

फिदिम । प्रदेश नं. १ मा विभिन्न घटनामा छ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनादेखि लडेरसमेत गरी विहीवार र शुक्रवार उक्त संख्यामा मानिसको ज्यान गएको हो ।
इलाममा इलामको माई नगरपालिका–१ पालटारमा भएको ट्रयाक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहीवार दिउँसो साँढे २ बजे समयमा खेत जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका ट्रयाक्टर चालक माई नगरपालिका–१ का २१ बर्षीय सुजन बिश्वकर्मा र ट्रयाक्टरमा सवार रहेका ११ बर्षीय बालक नितेश गिरीलाई उपचारका लाग झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मोरङमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको छ । उक्त नहरमा बृद्धा डुबेर मृत अवस्थामा फेला परेकी थिइन् ।
ओखलढुङगाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाण्डौँबाट रड बोकेर सोलुखुम्बूको बेनीतर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक उक्त स्थानमा अचानक दुर्घटना हुँदा ट्रक चालक दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो ।
निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का २८ बर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको छ । साथीहरुसँगै कोशी किनारामा निगुरो टिप्न गएकोमा चिप्लीएर कोशीको पानीमा खस्दा घाइते भएका मेहेतालाई उनका साथीहरुले तत्काल उद्धार गरी उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
भोजपुरको पौवादुम्बा गाउँपालिका–३ का १८ बर्षीय दिवस राईको खेसाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजे उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर राईको मृत्यु भएको हो ।