लागू औषधसहित ११ जना पक्राउ



फिदिम । प्रदेश नं. १ मा पछिल्ला केही दिनमा प्रतिवन्धित लागू औषध सहित ११ जना पक्राउ परेका छन् । कोभिड–१९ सङ्क्रमणको महामारीकै वीच उक्त संख्यामा लागू औषध कारोबारी, ओसारपसारकर्ता तथा प्रयोगकर्ता पक्राउ परेका हुन् ।

मोरङमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली बिराटनगर महानगरपालिका–१६ बाट लागूऔषध सहित बिराटनगर महानगरपालिका– ७ का आनन्द कुमार पासवानलाई पक्राउ गरेको छ । उनको साथबाट १०० मिलीलिटरको ३९ बोतल प्रतिवन्धित लागू औषध डाइलेक्स डि.सी. फेला परेको उक्त कार्यालयले जनाएको छ ।

झापामा दमक नगरपालिका–१ बाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीवार राती ११ बजे इलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ मा बस्ने दिपेन लिम्बू र माङसेबुङ–३ का रोहन राईलाई ४९.१ ग्राम ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले इलामको चुलाचुलीबाट लागू औषधसहित एक जनालाई पक्राउ परेको छ । स्थानीय तारा लिम्बूलाई स्पापिन ट्याब्लेट एक सय थान, ट्रोमाडोल ट्याब्लेट तीन सय थान सहित पक्राउ गरेको हो ।

यस्तै सुनसरीमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागू औषध सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका–४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका–६ श्रीपुरका सुनिल कुमार मुखिया, सोही स्थानका सुनिल कुमार यादब, कोशी गाउँपालिका–६ कै वीरेन्द्र मरवैता यादब, बराहाक्षेत्र–१ चतराका राजु शर्मा, वराहाक्षेत्र–९ प्रकाशपुरका खेमप्रसाद लुइटेल र भारत सपौल ग्राम पञ्चायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल छन् ।

कोशी कटान क्षेत्रबाट को १० प ९३३२ नम्बरको मोटरसाइकलमा आएका सुनिल कुमार मुखियालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा अन्य छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रतिवन्धित लागू औषध डाइलेक्स डि.सी. ३२६ बोतल, स्पास्मोपोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाइकल समेत वरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्