थप ११८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि



फिदिम । पछिल्लो २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै शुक्रवार अपराह्नसम्म देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या १६६४९ पुगेको छ ।

तीमध्ये ८,०११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक देखाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२० जना भाइरसमुक्त गएर घर फर्किएका छन् ।

अहिले देशभरि आइसोलेशनमा ८,६०३ जना छन् । उनीहरू सक्रिय सङ्क्रमित हुन् । बिहीवार १०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो । गत असार १९ गते सर्वाधिक ७४० जनामा संक्रमण पुष्टि भएको थियो ।

शुक्रवार पुष्टि भएका सङ्क्रमितहरू काठमाण्डौँसहित विभिन्न जिल्लाका हुन् । धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला संक्रमणमुक्त भएको डा. गौतमले बताए ।

त्यस्तै छ जिल्लामा भने ५०० भन्दा बढी उपचाररत कोभिड–१९ का बिरामी रहेका छन् । ती छ जिल्लाहरू महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् । शुक्रवार संक्रमितमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ५१ जना रहेका छन् ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,८०६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको संख्या २,७५,९५१ पुगेको छ ।

सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ । बिहीवार पुष्टि भएका संक्रमितमध्ये सुर्खेतका १८, बझाङका १६, कैलालीका आठ र काठमाण्डूका ५ जना छन् । अहिले देशभरि क्वारन्टीनमा २३,९१० व्यक्ति छन् ।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक संख्यामा मानिसहरू संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्