थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या घट्दो



फिदिम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो जेठ १२ पछि दैनिक पुष्टि भएको सबैभन्दा कम संख्या हो ।

यो वृद्धिसँगै बिहीवार अपराह्नसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल संख्या १६,५३१ पुगेको छ । तीमध्ये ७,८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३९ जना भाइरसमुक्त गएर घर फर्किएका छन् । अहिले देशभरि आइसोलेशनमा ८,६०५ जना छन् । उनीहरू सक्रिय संक्रमित हुन् ।

बुधवार २५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रायले जनाएको थियो । गत असार १९ गते सर्वाधिक ७४० जनामा संक्रमण पुष्टि भएको थियो । बिहीवार पुष्टि भएका संक्रमितहरू काणमाण्डूसहित विभिन्न जिल्लाका हुन् ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,५८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको संख्या २,७१,१४५ पुगेको छ । सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ ।

बिहीवार पुष्टि भएका संक्रमितमध्ये सुर्खेतका १८, बझाङका १६, कैलालीका आठ र काठमाण्डूका ५ जना छन् । अहिले देशभरि क्वारन्टीनमा २४,००० भन्दा बढी व्यक्ति छन् ।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक संख्यामा मानिसहरू संक्रमित भएका छन् । सुदूरपश्चिम प्रदेशमा उल्लेख्य संख्यामा संक्रमण बढिरहेको छ । अहिले त्यहाँ सर्वाधिक २९६२ जनामा सक्रिय संक्रमण छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्