कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति कोरोनाबारे यति हल्का टिप्पणी गर्थे



फिदिम । कोरोनाभाइरस महामारीको फैलिन थालेदेखि नै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारूले कोभिड–१९ ले निम्त्याएको खतरालाई कम आँक्दै आएका थिए । ब्रजिलमा बिहीवार बिहानसम्म कोरोनाभाइरसका कारण झन्डै ६८,००० व्यक्तिले ज्यान गुमाइसकेका छन् भने १७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

बोल्सोनारूले स्वास्थ्य अधिकारीहरूले जारी गरेका निर्देशिकासँग बाझिने खालका सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । त्यसका साथै सामाजिक दूरीसम्बन्धी सुझावको पनि उनले पटकपटक उल्लङ्घन गरेका छन् ।

चरम दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको मंगलवार एउटा पत्रकार सम्मेलनमार्फत् घोषणा गरे । कोरोनाभाइरस महामारीबारे ब्राजिलका यी राष्ट्रपतिले दिएका केही विवादास्पद अभिव्यक्तिहरू यस्ता छन् ः

‘बढाइचढाइ’

कोरोनाभाइरस महामारीबारे दिएका प्रारम्भिक अभिव्यक्तिमध्ये संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा उनले सञ्चारमाध्यमहरूले कोभिड–१९ बारे बढाइचढाइ गरेको आरोप लगाए । माईयामीमा आयोजित एउटा कार्यक्रममा उनले भने, “कोरोनाभाइरससम्बन्धी विषय पनि छ जसबारे मेरो विचारमा बढाइचढाइ गरी प्रस्तुत गरिँदैछ ।”

त्यसको दुई दिनपछि सङ्घीय सरकारका २० जना अधिकारीमा कोरोनाभाइरस संक्रमण भएको देखियो । तीमध्ये अमेरिका भ्रमणका लागि उनीसँग गएका केही व्यक्ति पनि थिए ।

‘सामान्य रुघाखोकी’

दुई हप्तापछि विश्वका धेरै मुलुकहरू लकडाउनमा हुँदा बोल्सोनारूले विद्यालय तथा व्यापार–व्यवसायहरू बन्द गरिएकोमा आलोचना गरे । कोरोनाभाइरसलाई ‘सामान्य रुघाखोकी’ भन्दै उनले आफूलाई संक्रमण हुने कुराबाट डर नभएको बताए ।

‘आक्रमण गर्दैमा यो सामान्य रुघाखोकीले मलाई ढाल्न सक्दैन’ सन् २०१८ को अर्को चरणको राष्ट्रपतीय चुनावका बेला गरिएको चक्कु आक्रमणसँग जोड्दै उनले भने ।

‘हामीभन्दा अरूलाई बढी असर’

अरू ठाउँका तुलनामा वृद्धवृद्धाको जनसंख्या कम भएकोले ब्रजिललाई यो महामारीलाई नछुने बोल्सोनारूले दाबी गरे । ‘अरू मानिसहरू हामीभन्दा बढी प्रभावित हुनेछन्। युरोपमा हामीभन्दा वृद्धवृद्धाको जनसङ्ख्या बढी छ’ उनले भने । जुलाई ८ तारिखसम्मको कुरा गर्दा कोरोनाभाइरसबाट मर्ने र संक्रमित हुनेको संख्याको हिसाबले ब्रजिलभन्दा अमेरिका मात्र अगाडि छ ।

‘भित्र गएर भिडिओ खिच्नू’

जुन १९ १२ तारिखमा बोल्सोनारूले विवादास्पद रूपमा आफ्ना समर्थकहरूलाई क्यामरासहित अस्पतालभित्र छिरेर सघन उपचार कक्षहरूको अवस्थाबारे भिडिओ बनाउन भने । ‘भित्र पस्ने बाटो खोज्नुहोस् र भिडिओ खिच्नुहोस’ एउटा लाइभ स्ट्रीमका क्रममा उनले भने ‘ती शय्याहरूको उपयोग भइरहेको छ वा छैन भन्ने हामीले हेर्नुपर्छ ।’

मार्च महिनादेखि बोल्सोनारूले कमजोर स्वास्थ्य अवस्था भएकाहरूलाई मात्रै आइसोलेशनमा राख्नुपर्ने बताउँदै आएका छन् । ब्रजिल अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा छ ।

गत एप्रिल महिनामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको संख्या चीनमा भन्दा ब्रजिलमा बढी भयो ।

‘जीवन चलिरहन्छ’

त्यो दिन देखिएको संक्रमितको संख्याबारे पत्रकारले सोध्दा उनले भने, ‘उसोभए के त ? मलाई माफ गर्नुहोस् । तपाईँ मबाट के चाहनुहुन्छ ? म मसीहा त हुँ, तर कुनै जादु गर्न सक्दिनँ ।’ उनको पूरा नाम जाइर मसीहा बोल्सोनारू हो ।

बोल्सोनारू प्रायः मास्क लगाउँदैनथे

राष्ट्रपति बोल्सोनारूले मे ७ तारिखका दिन ब्राजिलियास्थित आफ्नो घरमा ३० जना व्यक्तिलाई सेकुवा खुवाउने घोषणा गर्दै गर्दा ब्रजिलमा करिब ९,००० को ज्यान गइसकेको थियो भने १,३५,००० जना संक्रमित भएका थिए । ‘मैले अपराध गरिरहेको छु किनकि म सेकुवा खाइरहेको छु’ पत्रकारहरूलाई उनले भने ।

त्यसको दुई दिनपछि उनले बोली फेरेको देखियो । बोल्सोनारूले त्यो ठट्टा भएको बताए ।आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरेको दिन बोल्सोनारूले ‘थकान, छटपटी तथा मांसपेशीमा दुखाइ’ महसुस भएको बताए । त्योसँगै उनले भने, ‘तर आत्तिनुपर्दैन । जीवन चलिरहन्छ ।’ (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्