आइतवारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान, पहाडी जिल्लाहरू बढी प्रभावित हुने



फिदिम । अविरल वर्षासँगै नेपालमा विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको सरकारी निकायहरूले जनाएका छन् ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतवार सम्म कन्काइ, कोशी, कमला, वाग्मती र नारायणी नदी तथा तिनका सहायक नदीमा पानीको बहाव बढ्ने खतरा छ ।

त्यस्तै कास्कीको पोखरा, लुम्लेलगायतका धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र नजिका क्षेत्रमा ठूलो वर्षा मापन गरिएको र थप वर्षा हुने सम्भावना रहेको बताइएको छ । ती क्षेत्रका साना खोलामा आकस्मिक बहाव हुनसक्ने सरकारी निकायहरूले जनाएका छन् ।

के छ पूर्वानुमान ?

‘बिहीबारदेखि आइतवारसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ’ प्राधिकरणले बुधवार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

खासगरी प्रदेश नं १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा दिनहरूमा ठूलो बाढी आउन सक्ने हुँदा उक्त क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन सरकारले आग्रह गरेको छ । त्यस्तै बुधवार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।

नेपालमा पछिल्लो एक महिनामा बाढी, पहिरो र चट्याङका कारण दर्जनौँ मानिसले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । बुधवारको तथ्याङ्क अझै प्राप्त सङ्कलन हुन बाँकी भएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

बढी प्रभाव कहाँ ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बिहीवारदेखि चार दिनसम्म पानी पर्ने पूर्वानुमानका आधारमा पहाडी जिल्लाहरू बढी प्रभावित हुने अवस्था छ ।

‘पानी तराईमा बढी पर्ने देखिन्छ । पहिरोको जोखिम पहाडमा बढी हुँदा त्यहाँ समस्या बढी हुनसक्छ’ उनले भने ‘२०७२ सालको भूकम्पले जमिन थिलथिलो पारेको र यसपालिको प्रि–मनसुन तथा पछिल्लो २६–२७ दिनदेखि मनसुन सुरु भएपछि औसतभन्दा बढी पानी परेको अवस्था छ ।’ त्यसैले पहाडी भूभागमा पहिरोको जोखिम उच्च भएको उनले बताए ।

कोशी नदीसँग जोडिएका क्षेत्रमा रहेका स्थानहरूमा अबको चार दिनसम्म जोखिम बढी हुने र त्यसपछिको अवस्थामा भने तराईमा झापादेखि नवलपरासीका होचो क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए ।

बुधवार रातिको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले सिन्धुपाल्चोकको विभिन्न स्थानमा धेरै क्षति भएको बताइएको छ । तर क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु भनिने ठाउँको १२ वटा घर र दुईवटा टहरा बगाउँदा एक दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको सिन्धुपाल्चोकका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ३० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षीया छोरी युना बस्नेतको शव फेला परेको छ । वर्षाका कारण बाढी र पहिरो जाँदा सिन्धुपाल्चोकमा बाह्रबिसेदेखि तातोपानीसम्म विभिन्न स्थानमा क्षति पुगेको छ ।

बाढीमा परी बेपत्ता भएका १४ जनाको खोजी भइरहेको र चार घाइतेलाई उपचारका लागि पठाइएको काफ्लेले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बाह्रबिसे नगरपालिका–३ को खागदलमा स्थानीय खहरे खोलासँगै आएको पहिरोले २० घर बगाएको प्रहरीले बताएको छ । पहिरोले केही सवारीसाधनहरू बताएको छ ।

भोटेकाशी गाउँपालिका–५को बुलकोटीमा दुई घर बगाउँदा दुई जना घाइते भएको र चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । विभिन्न ठाउँमा पहिरो आएकाले उद्धार कार्यमा समस्या आएको बताइएको छ ।

अहिले विभिन्न ठाउँमा बाटो अवरुद्ध भएकाले घटनास्थलमा हिँडेर जानुपर्ने अवस्था रहेको र टेलिफोनको नेटवर्कले राम्ररी काम नगर्दा सम्पर्क गर्न समस्या भइरहेको बताइएको छ ।

के छ सरकारको तयारी ?

जोखिम कम गर्न आफूहरूले खतरा बढी रहेको क्षेत्रका सर्वसाधारणहरूलाई एसएमएस, सामाजिक सञ्जाल तथा विभिन्न भाषामा स्थानीय रेडिओमार्फत् सूचना सम्प्रेषण गरिरहेको अधिकारीहरूको भनाइ छ ।

अविरल वर्षका कारण तराईका विभिन्न स्थान डुबानमा परेका छन् । खतराको सम्भावना रहेका सबै जिल्लाका प्रशासन कार्यालयहरूलाई सतर्क गराइएको र तीन तहकै संयन्त्रसँग मिलेर काम अघि बढाइएको बताइएको छ ।

प्राधिकरणका अनुसार मौसममा देखिएको परिवर्तनको प्रभाव प्रदेश नं १ देखि गण्डकी प्रदेशसम्म पर्नेछ । ‘हामी कुनकुन क्षेत्रमा बढी प्रभाव पर्छ भन्ने विषयमा अध्ययन गर्दैछौँ । आजै साँझसम्म बढी प्रभावित क्षेत्र समेटिएको ‘म्यापिङ’ सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ’ उनले भने ।

सँगसँगै वर्षाको विपद् र कोभिड महामारी

नेपालमा मनसुनको समयमा बाढी र पहिरोलगायत अन्य विपद्का कारण हुने क्षति न्यूनीकरण गर्नका लागि सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७७ तयार पारेको थियो ।

तयारी अवस्थामा रहन आवश्यक भएकाले उक्त योजना तयार पारिएको र त्यसैअनुरूप पछिल्लो समयमा काम कारबाही अघि बढाएको सरकारको भनाइ छ ।

योजनामा यस वर्ष बाढी, पहिरो तथा पानीजन्य रोगहरूको समेत सम्भावना आकलन गरी वर्षायाममा ३० लाख विपद्का सम्भावित घटना हुने अनुमान गरिएको छ ।

उक्त दस्ताबेजमा साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरोलगायत पानीजन्य अन्य विपद् एकै पटक खप्टिने सम्भावना देखिएको र कोभिड–१९ सङ्क्रमणको उत्कर्ष पनि त्यसै बेला पुग्ने आकलन गरिएको उल्लेख गरिएको छ ।

भारतले सीमावर्ती क्षेत्रमा बनाएका तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणालीलगायत संरचनाका कारण पनि तराईका बस्ती र खेतबारीमा बाढी, डुबान, कटान तथा पटानको जोखिम उच्च बनाइदिएको उल्लेख गरिएको छ ।

बाढी र पहिरोको प्रकोप हुँदा औलो, डेङ्गी, कालाजार, इन्सेफलाइटिस, कमलपित्त र झाडापखाला जस्ता पानीजन्य रोगको जोखिम पनि उच्च हुने उक्त दस्ताबेजमा उल्लेख छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्