साउदीअरवबाट फर्केका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, २१ असार

साउदीअरवबाट आई पाँचथरको फिदिम स्थित क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणमा जिल्लाको हिलिहाङ गाउँपालिका घर भएका २८ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । वैदेशिक रोजगारीमा गएका उनी साउदीअरवमा अलपत्र परेपछि सरकारी उद्धारबाट स्वदेश फर्केका थिए ।

भक्तपुर स्थित होल्डिङ सेन्टर हुँदै गत असार १५ गते फिदिम ल्याइएका उनको स्वाब सङ्कलन गरी दुई दिनअघि परीक्षणका लागि पठाइएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।

उनी फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पस क्वारेन्टाइनमा बसेका थिए । उनीसँगै उक्त क्वारेन्टाइनमा विदेशबाट उद्धार गरी ल्याइएका १३ जना ब्यक्तिहरु छन् । अन्यको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोनाभाइरस संक्रमण पुष्टि भएका ती युवालाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाउने तयारी भएको छ । “सकेसम्म आजै विराटनगर पठाउने तयारी गरेका छौँ”, स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले भन्नुभयो, “उनको स्वास्थ्य अवस्था सामान्य छ ।”

पाँचथरमा यसअघि कुवेतबाट फर्किएकी एक युवतीमा समेत कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । उनी कोशी अस्पतालमा उपचारपछि निको भई घर फर्किसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्