कोरोना संक्रमणबाट ८५ वर्षीय वृद्धको मृत्यु



फिदिम । कोरोना भाइरसको संक्रमणबाट काठमाडौँको बानेश्वरका एक ८५ वर्षीय वृद्धको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना सम्बन्धीको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौँको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

मृतक उच्च रक्तचाप र पार्किन्सनको बिरामी थिए । उनलाई वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १५ हजार २ सय ५९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशको विभिन्न २५ प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा ७४० जनामा सङ्क्रमण भेटिएको बताउनुभयो । त्यस्तै, आजै ८ सय २३ जना निको भएर घर फर्केको जानकारी दिनुभयो ।

नेपालका सबै ७७ जिल्लाका मानिसमा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म नेपालमा ६ हजार १ सय ४३ जना निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्