लायन्स क्लबद्वारा जेष्ठ नागरिकलाई खाद्यान्न वितरण तथा आश्रम सरसफाई



फिदिम । लायन्स क्लब अफ फिदिमले पाँचथरको फिदिम नगरपालिका–२ स्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न वितरण गर्नुका साथै आश्रम सरसफाई गरेको छ ।

लायन वर्ष २०२०÷०२१ को पहिलो दिन लायन्स क्लब अफ फिदिम जेष्ठ नागरिकहरुलाई खाद्यान्न, फलफूल, मिठाई वितरण गरेको हो । चामल, दाल चिनी, तेल, आलु लगायत खाद्यान्न सहित केरा, स्याउ, आप लगायत फलफूल र विस्कुट, फ्रुटी, बुनिया, जेरी लगायत मिठाई वितरण गरिएको हो ।

आफन्त नरहेका तथा आफन्तको अवहेलनामा परी जेष्ठ नागरिक आश्रममा जीवनको उत्तरार्थ कटाई रहेका जेष्ठ नागरिकहरुलाई एक दिन भएपनि स्वादिष्ट परिकार उपलब्ध गराइएको लायन्स क्लब अफ फिदिमका अध्यक्ष दीपेन्द्र थापा मगरले वताउनुभयो ।

क्लबमा आवद्ध पदाधिकारी तथा सदस्यहरुबाट उक्त खाद्यान्न, फलफूल तथा मिठाई खरिद गरी वितरण गरिएको क्लबका सचिव वेनु तिम्सिनाले वताउनुभयो । लायन्स क्लब अफ फिदिमका पदाधिकारी तथा सदस्यहरुले आश्रम परिसर सरसफाई समेत गरेका थिए ।

जेष्ठ नागरिक आश्रम सञ्चालन गरिरहेको सिद्धपोखरी सेवा सदनकी अध्यक्ष राधिका थापाले केही समय अघिमात्रै स्थापना भएको लायन्स क्लब अफ फिदिमले जेष्ठ नागरिकहरुको दैनिक भोजनमा लागि खाद्यान्न तथा जेष्ठ नागरिकहरुको खुशीका लागि फलफूल र मिठाई वितरण गरी आश्रम सरसफाईमा समेत सहयोग गरेकामा धन्यवाद ब्यक्त गर्नुभयो ।

थापाले युवाहरु सम्मिलित लायन्स क्लब अफ फिदिमबाट यस प्रकारका मानवीय सहयोगका कार्यक्रम सुरु हुँदा युवा वर्ग तथा आम समुदायमा सकारात्मक सन्देश जाने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

उक्त आश्रममा हाल १३ जना जेष्ठ नागरिकहरु रहेका छन् । समस्यामा परेका थप केही जेष्ठ नागरिकहरुलाई आश्रम ल्याउनुपर्ने भएको वताउँदै अध्यक्ष थापाले आश्रममा थप पूर्वाधार तथा संरचना निर्माणका लागि सहयोग आवश्यक रहेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्