

फिदिम । प्रदेश १ मा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।
पछिल्लो समय झापामा २०, मोरङमा २, इलाममा २, सुनसरी र ताप्लेजुङमा १–१ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार झापाको मेचीनगरका ६ महिलासहित ७ जना, बुद्धशान्तिका २ महिलासहित पाँच जना, गौरदहमा ३ महिलासहित सात जना र गौरिगञ्जमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङको उर्लाबारीमा एक जना र कानेपोखरी गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी सुनसरीको इटहरीमा एक जना महिला, इलामको सूर्याेदयमा २ जना महिला र ताप्लेजुङको फुङलिङमा एक जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ६ सय ४ पुगेको छ । ती मध्ये ४ सय जना उपचारपछि घर फर्किसकेका छन् ।
कुन प्रदेशमा कति ?
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश २ र प्रदेश ५ प्रभावित भएका छन् । प्रदेश २ मा संक्रमित संख्या ३ हजार ८ सय ५६ जना र प्रदेश ५ मा ३ हजार ८ सय ४३ जना पुगेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा २७ सय, कर्णाली प्रदेशमा १५०८, गण्डकी प्रदेशमा १०५८, प्रदेश १ मा ६२३ र बागमती प्रदेशमा ४५८ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८, प्रदेश २ मा ६२, बागमती प्रदेशमा ३०, गण्डकीमा ४१, प्रदेश ५ मा ३६, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा २४३ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म ७ वटा जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेश २ का महोत्तरी, रौतहट र सर्लाही प्रदेश ५ को कपिलवस्तु र दाङ, कर्णालीको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । मृतक संख्या ३० पुगेको छ । अहिलेसम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण भएको छ । (अनलाइनखवरबाट)