नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो



फिदिम । नेपालमा विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यो वृद्धिसँगै बुधवार अपराह्नसम्म देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या १४,०४६ पुगेको छ । तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

विगत २४ घण्टामा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका संक्रमितको संख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

अछाम जिल्लामा असार १४ गते मृत्यु भएका एक पुरुषमा मरणोपरान्त कोभिड–१९ पुष्टि भएको जानकारी उनले दिए । परीक्षणको प्रतिवेदन मङ्गलवार आएको हो ।

अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड–१९ भएका व्यक्तिको संख्या सर्वाधिक छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि संक्रमितको संख्या उल्लेख्य रूपमा बढिरहेको छ ।

गत साता असार १७ संक्रमितको कुल संख्या १०,००० नाघेको थियो । मंगलवार नेपालमा थप ३१६ जना कोरोनाभाइरस संक्रमित भेटिएको पुष्टि भएको थियो ।

के छ अरू तथ्याङ्क ?

अहिले सबै ७७ वटा जिल्लामा कोभिड–१९ पुगिसकेको छ । बुधवार पुष्टि भएका संक्रमितमध्ये अछाममा १२६, महोत्तरीका ३६, सुर्खेतमा २२ र धनुषामा २१ जना छन् । प्रादेशिक रूपमा हेर्दा सुदूरपश्चिमका जिल्लामा सर्वाधिक संख्यामा संक्रमित फेला परेका हुन् ।

काठमाण्डू उपत्यकामा पनि १७ सङ्क्रमित थपिएका छन् । तीमध्ये ललितपुरमा पाँच, भक्तपुरमा दुई र काठमाण्डूमा १० जना मा कोभिड–१९ पुष्टि भएको हो ।

विभिन्न जिल्लामा ४८,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्