पाँचथरका चार स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना हुने



फिदिम । पाँचथरका चार स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा देशका ११४ स्थानमा बीओपी स्थापना गर्ने क्रममा पाँचथरका चार स्थापना बीओपी स्थापना हुने भएका हुन् ।

पाँचथरमा याङवरक गाउँपालिका वडा नं. १ चिवाभञ्ज्याङ, फालेलुङ गाउँपालिका वडा नं. ४ चारराते, सोही गाउँपालिकाको वडा नं. ५ भैंसे र वडा नं. ६ गोरुवाले भञ्ज्याङमा बीओपी स्थापना हुने भएका हुन् ।

यस्तै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा बीओपी स्थापना हुने भएको छ ।

इलाममा सन्दकपुर गाउँपालिका वडा नं. ४ कालपोखरी, सोही गाउँपालिकाको वडा नं. ५ जैबारी, सूर्योदय नगरपालिका वडा नं. १ मानेभञ्ज्याङ, सोही नगरपालिकाको वडा नं. ५ समालबुङ र वडा नं. ४ को छब्बिसेमा बीओपी स्थापना गरिने भएको छ । इलामकै रोङ गाउँपालिका वडा नं. ६ सलकपुरमा समेत बीओपी स्थापना हुने भएको छ ।

सीमाका ८९ ठाउँमा थपिँदैछ सशस्त्रको बीओपी

सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् ।

थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुङ्गो लागिसकेको छ भने केही स्थानमा भाडाको घरमा सशस्त्र प्रहरीले फौज राख्दैछ ।

गृह मन्त्रालयका अनुसार उत्तरी सीमामा ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी राख्ने तयारी भइरहेको छ । हालै सशस्त्रले चीनतिर हुम्लाको हिल्सा नाकामा पनि बीओपी स्थापना गरिसकेको छ ।

यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बीओपी स्थापना भइसकेको छ । सरकारले गत वर्ष मंसिरमा ११४ वटा बीओपी थप्ने निर्णय गरेपछि ती स्थानमा बीओपी राखिएका हुन् ।

त्यसअघि सशस्त्र प्रहरीले एक सय ७ स्थापनामा बीओपी राखिसकेको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरीलाई थप ५ सय वटा बीओपी राख्ने गरी खाका पेश गर्न भनेका थिए ।

जसअनुसार सीमामा उपस्थिति बढाउन ९ हजार जनशक्ति थप्नुपर्ने सशस्त्र प्रहरीले गृहलाई बताएको थियो । बादलको प्रस्तावअनुसार सशस्त्र प्रहरीको बीओपी स्थापना भए सीमामा साढे ३ किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्