निको भइन् पाँचथरमा भेटिएकी सङ्क्रमित



फिदिम, १५ असार

कोरोनाभाइरस संक्रमण पुष्टि भई कोशी अस्पताल विराटनगरमा उपचाररत यहाँकी एक युवती निको भई सोमवार डिस्चार्ज भएकी छन् ।

स्वाब परीक्षणमा गत असार ३ गते कोभिड–१९ पुष्टि भएपछि उपचारका लागि विराटनगर पठाइएकी युवतीमा पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो । उनी सोमवार पाँचथर आउँदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।

गत जेठ २८ गते कुबेतबाट नेपाल आएकी उनी भक्तपुरस्थित होल्डिङ सेन्टर हुँदै फिदिम आएकी थिइन् । जेठ ३२ गते फिदिम आइपुगेकी उनको भोलीपल्ट स्वाब परीक्षण गरी परीक्षणका लागि पठाइएकामा असार ३ गते कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।

उनीसँगै कुबेतबाट आएका दुई जना युवतीमा भने कोरोनाभाइरस देखिएको थिएन् । वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेकी जिल्लाको याङवरक गाउँपालिका स्थायी ठेगाना भएकी ती युवती सहित अन्यलाई सरकारले उद्धार गरी ल्याएको थियो ।

पाँचथरमा हालसम्म जिल्ला भित्र उनीमात्रै सङ्क्रमित भेटिएकी थिइन् । पाँचथर घर भई झापामा क्वारेन्टाइनमा रहेका दुई जना तथा ललितपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्