कुम्मायकको नीतिः आर्थिक विकास तथा रोजगारी प्रवर्द्धन, पूर्वाधार विकास र स्वास्थ्य तथा शिक्षा सवलीकरण



फिदिम । सुक्खाबाट प्रभावित कुम्मायक गाउँपालिकाले आर्थिक विकास एवम् रोजगारी प्रवद्र्धन, पूर्वाधार विकास र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सवलीकरणमा जोड दिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरेको छ ।

गाउँपालिकाले स्थानीय आवश्यकता, विगतमा गरिएका प्रतिवद्धता तथा घोषणा, संघ र प्रदेश सरकारका घोषित नीति तथा कोभिड–१९ को विश्वब्यापी महामारीबाट उत्पन्न परिस्थितिका आधारमा रहि नयाँ नीति तथा कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले वताउनुभयो ।

‘कुम्मायक गाउँपालिकाको समृद्धिको आधारः कृषि, पर्यटन, भोतिक पूर्वाधार र रोजगार’ भन्ने गाउँपालिकाद्वारा तय नीतिलाई मूर्त रुप दिन तथा गाउँपालिकावासीलाई परिवर्तन र विकासको अनुभूति दिलाउने प्रयाससहित नयाँ नीति तथा कार्यक्रम तय भएको अध्यक्ष चेम्जोङको भनाई छ । गाउँपालिकाले अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा रकम विनियोजन गर्ने गाउँपालिकाको प्रयास रहेको उहाँको भनाई छ ।

आर्थिक विकास र रोजगारी प्रवद्र्धनः

कुम्मायक गाउँपालिकाले कोभिड–१९ को प्रकोपका कारण गाउँ फर्केका युवाहरुलाई लक्षित गरी उद्यमशीलता विकासका लागि किस्ताबन्दीमा आर्थिक प्रोत्साहन उपलब्ध गराउने भएको छ । यस्तै नयाँ उद्यमी सिर्जना कार्यक्रम समेत गाउँपालिकाले सञ्चालना ल्याउने गाउँपालिका अध्यक्ष चेम्जोङले वताउनुभयो ।

सुक्खा प्रभावित यस गाउँपालिकामा कपास, बेसार, अदुवा र बेमौसमी तरकारी खेती प्रवद्र्धन गरिने भएको छ । यस्तै बाख्रापालन, स्थानीय कुखुरापालन र बंगुरपालनका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

दैनिक रोजगारी गुमाएका ब्यक्तिहरुका लागि गाउँपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिका भित्र सञ्चालन हुने विकासका कार्यमा उनीहरुलाई श्रममा लगाई उचित पारिश्रमिक दिई रोजगारीको प्रत्याभूति गरिने अध्यक्ष चेम्जोङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत प्रभावकारी तुल्याई लामो समय रोजगारी दिन सक्षम एवम् उपयुक्त बनाउने गाउँपालिकाको प्रयास छ ।

भौतिक पूर्वाधार विकासः

कुम्मायक गाउँपालिकाले मुख्य सडकहरुको ट्रयाक खोल्ने काम करीब सम्पन्न भएको जनाउँदै अब मूख्य लगानी आवश्यक पर्ने उत्तरे–यासोक–लुमुघाट सडक कालोपत्रे तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखी लगानी जुटाउन पहल गर्ने भएको छ ।

यस्तै निर्माण भएका सडकहरुलाई बाह्रै महिना सवारी सञ्चालनयोग्य बनाउन गाँउपालिकाले विशेष कार्यक्रम ल्याएको छ । सडकहरुको स्थानीय स्तरमै मर्मत, सम्भार र संरक्षण आवश्यक रहेको भन्दै गाउँपालिकाले टोल स्तरमा समिति गठन गरी सडक मर्मतमा जनसहभागिता जुटाउने नीति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले सार्वजनिक गर्नुभयो । सडकहरुको मर्मतका लागि मासिक रुपमा श्रमदान गर्ने प्रवन्ध मिलाइने उहाँले वताउनुभयो ।

कुम्मायकमा रु. २० लाख भन्दा बढी लागतका सडक लगायत संरचना निर्माण गर्दा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी ठेक्का प्रकृया मार्फत अगाडि बढाइने भएको छ ।

गाउँपालिकालाई फिदिमसँग जोड्ने सरखण्डे–यासोक सडक कालोपत्रे सुरु भएपछि गाउँपालिकाले प्रदेश सरकारसँगको सहलगानीमा बगाले चिहान–३ नं. वडा कार्यालय सडक र तिङ्देन स्वास्थ्य चौकी भवन निर्माण गर्न प्रस्ताव गरेको छ । यस्तै आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालिने भएको छ ।

सबै वडामा सामुदायिक भवन बनाउने कार्यलाई प्राथमिकता राखी विगतमा सुरु भएका निर्माणका कार्यलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ । यस्तै खानेपानी, सडक लगायत क्षेत्रमा आउने भैपरी समस्या समाधानका लागि गाउँपालिकाले छुट्टै कोष समेत खडा गरेको छ ।

सामाजिक क्षेत्रः

कुम्मायक गाउँपालिकाले क्वारेन्टाइनहरुको गुणस्तर सुधार तथा स्वास्थ्य सामग्रीको उचित प्रवन्ध गर्न बजेटको ब्यवस्था गरेको छ । गाउँपालिकाले मातृशिशू स्वास्थ्यलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयम्सेविका र आमा समूहको परिचालनमा जोड दिने भएको छ ।

खोपकेन्द्र तथा बर्थिङ सेन्टर निर्माणलाई तीब्रता दिई सञ्चालनमा ल्याउने, अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिने, बहुक्षेत्रीय पोषणलाई प्रभावकारी बनाउने, बालमैत्री गाउँपालिका निर्माणलाई समेत कुम्मायकले प्राथमिकता राखेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक तथा प्राविधिक सहयोग गर्ने, विद्यालयको पहुँचभन्दा बाहिर रहेका तथा समस्या रहेका बालबालिकाको पठन–पाठनको हक सुरक्षित गर्न आवाशीय विद्यालय सञ्चालन गर्ने कुम्मायकको तयारी छ । यस्तै शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव मूल्याङ्कन गरी उचित कार्यक्रम लागू गरिने भएको छ ।

कुम्मायक गाउँपालिकाले फुसको छानो हटाउने तथा विपन्न परिवारको घर निर्माण गर्ने कार्यक्रममा संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ ।

यस्तै उच्च शिक्षाको केन्द्रको रुपमा रहेको यासोक क्याम्पसको भौतिक तथा प्राविधिक क्षमता वृद्धि गरिने भएको छ । गाउँपालिकाले खानेपानी योजनाहरुको सञ्चालनलाई एकद्वार प्रणालीमा लैजाने भएको छ ।

सेवा प्रवाह र सुशासनः

कुम्मायक गाउँपालिकाले सूचना प्रविधिको प्रयोगमा जोड दिने, अनलाइन ब्यक्तिगत घटना दर्ता गराउने, पुराना अभिलेखहरुलाई डिजिटल प्रविधिमा ढाल्ने, गरीब परिवार परिचयपत्र वितरणलाई निरन्तरता दिने, गाउँपालिकाको प्रशासनिक कामलाई प्रतिफलयुक्त र प्रविधिमैत्री बनाउन सफ्टवेयर र उपकरणको प्रवन्ध गर्ने, मेलमिलाप समितिहरुलाई सक्रिय गराउने, लामो समयदेखि तिर्न बाकी कर तिरे कर छुट दिने ब्यवस्था गर्ने, प्रशासनिक कामका लागि घुम्ती शिविर आयोजना गर्ने नीति तय गरेको अध्यक्ष चेम्जोङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्