शिक्षा, स्वास्थ्य, आयआर्जन वृद्धि र पूर्वाधार विकासमा जोड दिने फिदिम नगरपालिकाको नीति



फिदिम, १४ असार

पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा सेवा प्रवाहका क्षेत्रहरुको सवलीकरण, आयआर्जन वृद्धि एवम् रोजगारी सिर्जना र पूर्वाधार विकासमा जोड दिएको छ ।

फिदिम नगरपालिकाको सातौँ नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले ‘समृद्ध शहर, फिदिम नगर’को परिकल्पना तथा ‘नगरवासीको सपना, समग्र समृद्धिको स्थापना’ भन्ने अभियानअनुसार प्राथमिकताहरुमा परिवर्तन गरी नीति कार्यक्रम तथा बजेट निर्माण गरिएको वताउनुभयो ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रको निरोधात्मक उपायहरुको कार्यान्वयन गर्ने, कोरोनाभाइरस सहितका महामारीको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदमहरु चाल्ने, समुचित रुपमा क्वारेन्टाइन ब्यवस्थापन गर्ने, महामारीविरुद्ध सक्रिय उमेरका नागरिकको परिचालन गर्ने, अशक्तहरुलाई राहत दिने, जिल्लामै पीसीआर परीक्षणको प्रवन्ध मिलाउन पहल गर्ने नीति तय गरेको छ ।

यस्तै बैकल्पिक माध्यमबाट शिक्षणको प्रवन्ध मिलाउने, सामुदायिक विद्यालयहरुको पूर्वाधार विकास एवम् शैक्षिक सुधारमा कार्यसम्पादन सूचकलाई आधार मान्ने, आवश्यकताअनुसार विद्यालय एकीकरण गर्ने, सामुदायिक विद्यालयमा अध्ययन गरी उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, स्वयंसेवक शिक्षकको सुविधा वृद्धि गर्ने विषय नयाँ नीति तथा कार्यक्रममा समावेश भएका छन् । नगरपालिकाले रु. २ करोड २४ लाख ६९ हजार बजेट छुट्टयाएको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यहाँ कृषि तथा पशुपालन, उद्यम, पर्यटन र रोजगारीलाई आर्थिक विकासका क्षेत्रको रुपमा लिई रु. १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । प्राङ्गारिक उत्पादनका लागि विशेष कार्यक्रम सञ्चालन गर्न कृषकहरुलाई चेतना, प्रविधि र शीप प्रदान गर्ने, कृषिलाई आधुनिक बनाउन सघन उत्पादन, आधुनिक प्रविधि र यन्त्रको प्रयोगमा सघाउ पु¥याउने नीति लिइएको छ ।

यस्तै साना शीतभण्डार निर्माण गरी कृषि उपज सङ्कलन एवम् उचित बजार मूल्य खोज्न सहयोग गर्ने, सुक्खा क्षेत्रमा प्लाष्टिक पोखरी तथा थोपा सिंचाई प्रविधिको प्रयोगमा सहयोग गरिने भएको छ ।

कृषि–पर्यटन प्रवद्र्धनका लागि कृषकहरुलाई घरबास निर्माण एवम् सञ्चालन सहयोग गर्ने, पर्यटकीय सूचना केन्द्र तथा कोशेलीघर निर्माण गरी स्थानीय उत्पादनको प्रचार–प्रसारमा सहयोग गर्ने, कृषि पकेट क्षेत्र निर्माण गरी सघन उत्पादनमा जोड दिने र लागत साझेदारीमा पशुपालन प्रवद्र्धन गरी कृषकहरुको आयआर्जनमा सघाउ पु¥याउने नीति तय गरिएका छ । यसका लागि नगरसँगको साझेदारीका गाईपालन प्रवद्र्धन गर्ने किसानलाई उत्पादन फिर्तामा पनि सहभागी गराई ‘घुम्ती गाईबैंक’ स्थापना गरिने भएको छ ।

नगरपालिकाले गरिबी निवारण कोष सहित समुदायस्तरमा गठन भएका समूहरुमा संकलित बचत कोष तथा उपलब्ध पुँजीको परिचालन मार्फत रोजगारी सिर्जना, आयआर्जन वृद्धि एवम् उत्पादनमुलक काममा समुदायको परिचालनमा जोड दिने भएको छ ।

गरिबी निवारण कोषबाट विगतमा सञ्चालित समूहरुलाई सहकारी प्रणालीमा रुपान्तरण गरी कृषि, लघु तथा घरेलु उद्योग सञ्चालनमा लगानी गरिने भएको छ । यस्तै उपभोक्ता समितिहरुसँग योजना सम्झौता गर्दा उपभोक्ताले अनिवार्य रुपमा १० प्रतिशत लागत साझेदारी लगानी गर्नुपर्ने नगरपालिकाले ब्यवस्था मिलाएको छ ।

यस्तै नयाँ उद्यमी सिर्जना, उद्यमीको शीप विकास, साझा सुविधाका लागि सुविधा केन्द्र वा उद्यमघर स्थापना गर्ने र समूहमा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ । नगरपालिकाले नगरको प्रशासकीय भवन तथा वडा कार्यालय भवनहरु जुन तहसम्म पुगेका छन्, सोही तहसम्म पूर्ण बनाउने भएको छ ।

यस्तै ग्रामीण सडकहरुको सुधारका लागि सडक मर्मतसम्भार कोष स्थापना गर्ने भएको छ । गरपालिका भित्र संघ र प्रदेश सरकारसँग लागत साझेदारीमा ठूला आयोजना सञ्चालनका लागि नगरपालिकाले रु. ८ करोड ७९ लाख रकम विनियोजन गरेको छ ।

नगरपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु. १५ करोड १५ लाख, राजश्व बाँडफाँटबाट १० करोड ६३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु. ७६ लाख, राजश्व बाँडफाँटबाट रु. १ करोड १५ लाख, घरजग्गा रजिष्ट्रेसनबाट रु. ५० लाख, आन्तरिक श्रोतबाट रु. २ करोड ६२ लाख, चालु आर्थिक वर्षमा मौज्दात रहने रु. २ करोड अनुमान गरी कूल रु. ३२ करोड ९९ लाख आम्दानी हुने अनुमान गरेको छ ।

यस्तै संघीय सरकारबाट ससर्त अनुदानबाट रु. ४७ करोड, प्रदेशबाट ससर्त अनुदान रु. ८३ लाख, संघीय सरकारबाट विशेष अनुदान रु. १ करोड ५० लाख, समपुरक कोषतर्फ रु. १ करोड ६१ लाख र प्रदेश सरबाट रु. १ करोड गरी रु. ५२ करोड २८ लाख ससर्त अनुदान प्राप्त हुने नगरापलिकाको अनुमान छ । यसबाट नगरपालिकाको कूल बजेट रु. ८५ करोड २७ लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले साधारण खर्चतर्फ रु. ११ करोड १७ लाख र विकास खर्चतर्फ रु. २१ करोड ८१ लाख रकम खर्च हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्