सिमित बजेटलाई सन्तुलित र जनतामैत्री ढंगले परिचालन गर्छौँ



संसार नै नोबल कोरोना भाइरस (कोभिड–१९)सँग जुधिरहेको छ । कोरोना भाइरस सङ्क्रमणको त्रास तथा सङ्क्रमण फैलन नदिन जारी गरिएको लकडाउनका कारण आम मानिसको जनजीवन प्रभावित छ । नेपालमा चालु आर्थिक वर्षको समाप्ति तथा नयाँ आर्थिक वर्ष सुरुआतको सम्मुखमा कोरोना भाइरस संक्रमणको महामारी फैलँदो छ । महामारीको तत्कालीन मात्रै नभई दीर्घकालीन असर समेत छन् । संवैधानिक ब्यवस्थाअनुसार यतिबेला स्थानीय तह (सरकार)हरु कोरोना भाइरससँग जुध्दै नयाँ आर्थिक वर्षका योजना निर्माण गरेका छन् ।

कोरोना भाइरसको महामारी तथा नयाँ बजेटको सम्बन्ध के–कस्तो हुन्छ ? स्थानीय तहमा यसको प्रभाव कस्तो पर्छ ? र, नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कस्तो बनाइन्छ ? भन्ने विषयमा याङवरक सन्देश का लागि रवीन्द्र काफ्ले र नेत्रप्रसाद कोइरालाले याङवरक गाउँपालिकाका उपाध्यक्ष एवम् बजेट तथा योजना तर्जुमा समितिका संयोजक कमलकुमारी योङहाङसँग कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

कोरोना भाइरस (कोभिड–१९)को महामारी तथा लकडाउनको याङवरक गाउँपालिकामा कस्तो प्रभाव परेको छ ?

– कोभिड–१९ को प्रभाव त परेको छ नै । गत वर्ष जे–जस्ता लक्ष्य, उद्देश्य र योजनाहरु सहित हामी अघि बढेका थियौँ, त्यसलाई प्राप्त गर्न साह्रै ठूलो अवरोध आइपरेको छ । बजेटको मितब्ययितता गर्दागर्दै पनि महामारी नियन्त्रणमा धेरै खर्च भइसकेको छ । हालसम्म झण्डै २० लाख खर्च भइसकेको छ । जसमा क्वारेन्टाइन ब्यवस्थापन, राहत वितरण, आरडिटी र पीसीआर किट खरिदमा अत्यन्तै धेरै खर्च भइरहेको छ । रकमान्तर गरेर पनि खर्च ब्यवस्थापन गर्दैछौँ ।

कोरोनामा केन्द्रीत भई बजेट खर्च गर्दैगर्दा चालु आर्थिक वर्षका कति योजनाहरु प्रभावित हुन्छन् ? ती योजनाहरुको अवस्था कस्तो छ ?

– योजनाहरुमा प्रभाव त पर्छ नै । संघीय र प्रदेश सरकारबाट आउने समानिकरण बजेट र राजश्व बाँडफाँटको बजेट सोचेजस्तो र सिलिङमा भएजस्तो नआउने देखिएको छ । यस्तै गाउँपालिकाको राजश्व समेत लक्ष्यअनुसार उठ्न सकेको छैन् । हाम्रो अनुमान गरेकोभन्दा अंकमा झण्डै चार करोड रुपैयाँको ग्याप छ । यसलाई रिकभर गर्नका लागि अरु बजेटलाई ब्यवस्थापन गर्न त खोजिरहेका छौँ । यस्तै विकास निर्माणका कामहरुमा समेत ढिलाई भइरहेको छ । विगतमा तीब्र गतिमा रहेका योजनाहरुमा धक्का लाग्यो । कतिपय योजनाहरुको कामको निकासा दिनुपर्ने अवस्था छ तर दिन सकिएको छैन् ।

यो त गाउँपालिकाको विषय । याङवरक गाउँपालिकामा जनस्तरमा कोभिड–१९ र लकडाउनले पारेको प्रभाव चाँहि के छ ? यसले ग्रामीण क्षेत्रमा ल्याएको बद्लाब के छ ?

– हामी हाम्रा नियमित काममा गाउँपालिका भित्र निरन्तर अनुगमन र भ्रमण गरिरहेका छौँ । कोभिड–१९ को संक्रमणको दरले जनतामा भय त छँदैछ । हामीले लकडाउनको नियम पालनाका लागि निरन्तर आग्रह गर्दै आएका छौँ । हाम्रो मुख्य जनजीवन कृषिमा आधारित र ग्रामीण भएकाले ठूलो प्रभाव भने परेको छैन् ।

अहिले ठूलो युवा शक्ति गाउँ भित्रिएको छ । धेरैसँग केही न केही शीप पनि छ । उनीहरुलाई गाउँको विकासमा सदुपयोग गर्ने यहाँहरुका योजना के छन् ? आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटले युवाहरुलाई कसरी समेटेको छ ?

– वैदेशिक रोजगारीमा रहेका तथा नेपालकै विभिन्न ठाउँमा रहेका दाजुभाई दिदीबहिनीहरु अहिले घर आउने क्रम चलिरहेको छ । जहाँ चाहिँ युवाहरु धेरै र सक्रिय छन्, त्यहाँ छिटो विकास भएको देखिन्छ । अब उहाँहरुलाई रोजगारी, गाउँ समाजको विकास र योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि युवाका लागि बजेटले सम्बोधन गर्छौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि उहाँहरुलाई समेट्छ । संघीय सरकारबाट उक्त कार्यक्रममा यथेष्ट बजेट आएको छ ।

गाउँपालिका भित्र पनि विकास निर्माणका काममा अलि परिवर्तन गर्ने कि भन्ने सोच बनाउदैछौँ । पहिला स्काभेटर मात्रै लगाउने योजना चलाइए । अब सोलिङ गर्ने, हम पाइप राख्ने, नाली बनाउने, पर्खाल लगाउने जस्ता मसिनो काम गर्नेतर्फ हाम्रो सोच बनेको छ ।

गाउँपालिका तथा वडाबाट समेत यस्तै योजनाहरु अघि बढाइन्छ । यसले एक त ग्रामीण सडकहरुको अवस्था सुधार हुन्छ भने अर्को तर्फ युवाहरुले रोजगारी पाउनुहुन्छ । तर बजेटले पारेको प्रभाव र प्रभावको निरन्तरता रहे हामीलाई यस्ता लक्ष्य प्राप्त गर्न कठिन पर्छ । हामीलाई शंका लागेको छ ।

अब यसलाई रिकभर गर्न थोरै बजेटले धेरै जनतालाई समेट्ने र लाभान्वित हुने योजना बनाइदैछ । अब विषयगत समितिहरुमा छलफल गरेर खाका बनाई कार्यपालिकाबाट ठोस योजना निर्माण गरी गाउँसभाबाट निर्णय लिइएको छ । समग्रमा युवाहरुलाई रोजगारी दिने र राहत समेत हुने गरी योजना र कार्यक्रमहरु अघि बढाउने हाम्रो लक्ष्य छ ।

याङवरक गाउँपालिका चाहीँ कृषि उपज उत्पादन, पशुपालन, लघु तथा घरेलु उद्योग स्थापना र सञ्चालनका लागि उपयुक्त छ भनिन्छ । यी क्षेत्रमा धेरै अवसरहरु पनि छन् । विशेषत गाउँपालिकावासीको आयआर्जन वृद्धि र आत्मनिर्भरताका लागि यी र यस्ता क्षेत्रमा गाउँपालिकाले के–कस्ता योजना बनाउँदैछ ?

– कृषि, पशुपालन र घरेलु उद्यम हाम्रो आर्थिक समृद्धि र यहाँको आयआर्जनका महत्वपूर्ण पक्षहरु हुन् । यसपाली घरेलु तथा साना उद्योगमा प्रशस्तै काम गर्ने योजना बनेको छ । जसलाई संघीय सरकारले समेत सहयोग गर्ने भएको छ ।

कृषि र पशुपालनमा गत वर्षको बजेट सिलिङलाई घटाइएको छैन् । बरु थप वृद्धि गर्ने तयारी थियो । तर बजेट घटेकाले कृषि र पशुपालनमा बजेट वृद्धि गर्न चाहीँ सकिएन् । कोभिड–१९ ले पारेको प्रभावलाई लक्षित गरेर अघि बढेका छौँ । खरिदहरु कम गरिएको छ भने जनतामैत्री कार्यक्रमहरु ल्याउने हाम्रो तयारी छ ।

जनतामैत्री कार्यक्रम भनेका के–कस्ता कार्यक्रमहरु हुन् ?

– याङवरक गाउँपालिकामा उत्पादन हुने वस्तुहरु र धेरै नागरिकले गर्ने पेशा र ब्यवसायलाई लिइएको हो । हाम्रोमा धेरै गाउँपालिकावासीले टमाटर उत्पादन गर्नुहुन्छ । टमाटर उत्पादनमा हाम्रोमा अत्यन्तै राम्रो सम्भावना पनि छ । तर बजार सुरक्षित नहुँदा समस्या भइरहेको छ । लकडाउन र कोभिड–१९ को प्रभावले यसपालि झनै ब्यापक रुपमा टमाटर र अन्य फलफूल तथा सागशब्जीको खेती भएको देखिन्छ ।

त्यसलाई बजारिकरणका लागि टमाटरको सस बनाउने योजना बनाइएको छ । त्यसमा बजेट पनि छुट्टयाइएको छ । यस्तै एक घर एक करेसाबारी भन्ने कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ ।

यसमा वडा नं. ३ लाई लक्षित गरिएको छ । यसलाई पाइलट प्रोजेक्टको रुपमा राखिएको छ । यस्तै पशुपालन तर्फ दूग्धजन्य सामग्री उत्पादन, बाख्रापालन, ठूला ब्यवसायिक पशुफर्महरु सञ्चालनमा जोड दिइएको छ । यस्तै कृषि र पशुपालन गर्नेहरुलाई ब्यवसायिक बनाउने तालिम सञ्चालन गर्ने कार्यक्रम समेत राखिएको छ । विशेषत शीप सिकाउने हाम्रो योजना छ ।

लकडाउन र कोभिड–१९ को प्रभावले दैनिक ज्यालादारी गर्ने मानिसहरुको रोजगारीको अवसर गुमेको छ । एक त गाउँपालिकाले राहत दिनुपर्ने छ भने अर्कोतर्फ उनीहरु वेरोजगार छन् । कतिपय स्थानीय तहहरुमा ‘काममा लागि खाद्यान्न’ जस्ता कार्यक्रमहरु पनि सुरु भएका छन् । हामीकहाँ चाहीँ श्रम तथा उत्पादनमुलक काम, सामूहिक खेती लगायतमा उनीहरुलाई लगाउने कुनै योजना छन् कि छैनन् ?

– हामीले विशेष गरेर राहतमा धेरै बजेट खर्च गरेनौँ । हामीले राहत पाउने लक्षित वर्ग को–को हुन् ? दिनैपर्ने अवस्था हो होइन् ? फेरी दिनुपर्छ पर्दैन् ? भनेर हे¥यौँ । धेरैले बेरोजगार बस्नुपर्ने अवस्था त छैन् । हामीले संघीय सरकारले भनेअनुसार श्रममा लगाएर राहत दियौँ । अब प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गलाई राहत दिनेछ ।

आगामी दिनमा राहतको प्याकेजभन्दा श्रममा जोड्ने र आयआर्जन गर्ने विकल्पहरु सिर्जना गर्नुपर्ने आवश्यकता छ । राहत मात्रैले भविश्यमा दीगो रुपमा जिविकोपार्जन हुदैन् । यसैले भविश्यमा राम्रो नतिजा आउने कामहरु गर्ने हाम्रो लक्ष्य हो । तर हाम्रो स्रोत नै कमजोर छ ।

हामीले आवधिक योजना बनाई कार्यान्वयन गरिरहेका छौँ । हामीले आवधिक योजनालाई टेकेर बजेट निर्माण गर्नुपर्ने आवश्यकता छ । आवधिक योजनाअनुसार बजेट हेर्दा बर्षमा झण्डै ४० करोड बजेट वितरण ग¥र्यौँ भनेमात्रै जनताका आधारभूत आवश्यकता सम्बोधन हुन्छन् । तर बजेट भने साढे १७ करोड विनियोजन हुने अवस्था छ ।

यत्ति ठूलो ग्यापलाई पुर्न हामीलाई कठीन छ । कोभिड–१९ को प्रभावले बजेट अझै घट्ने देखिन्छ । अब जे जति भएका स्रोत साधनलाई जनतामैत्री कार्यक्रम ल्याई आंशिक रुपमा भएपनि जनताका माग सम्बोधन गर्ने जाने भन्ने हामीले यसपाली तयारी गरेका छौँ ।

अहिले पनि वडाहरुबाट विगतजस्तै योजनाहरु माग भइरहेका छन् । बजेट आधा भन्दा कम आउने यहाँले वताइरहनुभएको छ । अब यहाँहरुले गाउँपालिकावासीलाई कसरी बुझाउनुहुन्छ ? र, हाम्रो अर्थतन्त्रमा परेको असरले विकास निर्माण रोकिँदै जाने अवस्था आउनसक्ने खतरा छ । यसबाट गाउँपालिकामा प्रभाव पर्न नदिन के गर्नुहुन्छ ?

– बुझाउने भन्दा पनि सिमित स्रोत साधनलाई प्रभावकारी ढंगले परिचालन गर्ने योजनामा छौँ । जति नै बजेट लगेपनि जनताले बढी भयो त भन्नुहुन्न । अब सडकका विषयमा सोच्नुपर्ने अवस्था छ । वडा, गाउँपालिका, प्रदेश र संघको बजेट पनि सडकमै गइरहेको छ । वडाबाट बाटोको माग त आउँछ, तर त्यहाँ गाइपालन, बाख्रापालन, बंगुरपालन, माछापालन, लघु तथा घरेलु उद्योग सञ्चालन, कृषि उपज उत्पादनका के कस्ता योजना आवश्यक छ भन्ने सोचिएको छैन् ।

के ले हामीलाई आत्मनिर्भर बनाउँछ भन्नेतर्फ सोचिएको छैन् । यसतर्फ सोच्ने आवश्यक छ । यस्ता बजेट एवम् कार्यक्रम मागिए हामीले त्यस्ता योजना कार्यान्वयन गर्ने र बजार सुनिश्चित गर्नेतर्फ हामीले ठोस भूमिका खेल्न सक्थ्यौँ ।

कोभिड–१९ ले अर्थतन्त्र र बजेटमा समस्या छ । अर्थतन्त्र छियाछिया छ । नागरिकहरुले पनि समस्यालाई बुझ्नुपर्छ । प्रभावकारी ढंगले बजेट विनियोजन गरी कतैबाट आवाज नउठ्ने स्थिति निर्माण गर्न लागेका छौँ ।

आगामी दिनमा सिमित स्रोत साधनलाई सहि ठाउँमा पु¥याउनका लागि बालुवामा पानी खन्याएको भन्दा पनि मलिलो ठाउँमा खन्याउन हाम्रो शीप र क्षमतालाई कार्यक्रम, योजना र लक्ष्यमा ढाल्ने प्रयास गरेका छौँ । हाम्रो टिम नै विषयगत समितिहरुमा छलफल र विश्लेषण गरी यस्तै कार्यक्रमहरु ल्याएका छौँ । (याङवरक सन्देश मासिकबाट)

प्रतिक्रिया दिनुहोस्