

फिदिम । याङवरक गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछिका तीन वर्षमा प्राप्त उपलब्धिहरु सार्वजनिक गरेको छ ।
गाउँपालिकाको सातौँ गाउँसभामा उपाध्यक्ष कमलकुमारी योङहाङले वितेका तीन आर्थिक वर्षहरुमा प्राप्त उपलब्धिहरु सार्वजनिक गर्दै गाउँपालिकाको आगामी योजना र प्राथमिकताबारे प्रष्ट्याउनुभएको छ ।
उक्त अवधिमा गाउँपालिकाले भौतिक पूर्वाधार तर्फ गाउँपालिकाको प्रशासकीय भवन निर्माण तथा वडा नं. २ र ५ को वडा कार्यालय भवन निर्माण सुरु भएको, वडा नं. ३ मा वर्थिङ सेन्टर, वडा नं. ५ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको तथा छ वटा खोप केन्द्रका भवनहरु निर्माण भई सञ्चालनमा आएको जनाएको छ ।
यस्तै वडा नं. ४ थर्पू बजारमा सामुदायिक भवन निर्माण भइरहेको, वडा नं. ६ मा जेष्ठ नागरिक दिवा आश्रम निर्माण भएको, विभिन्न वडामा तीन वटा कृषि उपज संकलन केन्द्रका भवन निर्माण भएका छन् । विगत तीन वर्षमा गाउँपालिकाले १० वटा विद्यालयमा नयाँ भवन तथा ब्लक निर्माण गरेको छ । यस्तै चिवाभञ्ज्याङमा एउटा होमस्टे निर्माण सम्पन्न भएको छ ।
थर्पू बजार आसपासको क्षेत्रका लागि चिण्डेअसिने वृहत खानेपानी आयोजना निर्माण सुरु भएको तथा दाहालगाउँ खानेपानी योजना र सालबोटे खानेपानी योजना योजना निर्माण सम्पन्न भएको छ ।
एउटा खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेको छ भने विभिन्न २० वटा साना तथा ठूला खानेपानी योजनाको मर्मत गरिएको छ । यस्तै सात वटा खानेपानी आयोजना निर्माणका लागि डीपीआर सम्पन्न भएको छ । यस्तै सीमाक्षेत्र चिवाभञ्ज्याङमा सशस्त्र प्रहरीको बीओपी स्थापनाका लागि गाउँपालिकाले खानेपानीको प्रवन्ध मिलाएको छ ।
गाउँपालिकाद्वारा सार्वजनिक प्रगति विवरणअनुसार वडा नं. ६ मा एउटा सिंचाई आयोजना निर्माण सम्पन्न भएको छ भने गाउँपालिकाका विभिन्न वडामा १३ वटा सिंचाई आयोजनाको मर्मत सम्पन्न भएको छ । यस्तै छ वटा लघु जलविद्युतको मर्मत समेत सम्पन्न भएको छ ।
गाउँपालिकाले गाउँपालिकास्तरीय खेलमैदान निर्माणका लागि वडा नं. ६ बोझेधारामा डीपीआर सम्पन्न गरी निर्माण थालेका छ भने अन्य साना र ठूला गरी आठ वटा खेलमैदान निर्माण गरिएको छ । यस्तै गाउँपाकिलाले ५३ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेको छ भने ६५ किलोमिटर सडक स्तरोन्नति गरिएको छ । ८० किलोमिटर सडकको डीपीआर तयार पारिएको छ भन ११ किलोमिटर गोरेटो बाटो निर्माण तथा मर्मत गरिएको छ ।
गाउँपालिकाले गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी सूचिकृत गरेको छ । यस्तै ५२ मौलो निशान धाममा पर्यटकीय पूर्वाधार निर्माण गुरुयोजना तयार पारिएको छ । गाउँपालिकाले धार्मिक स्थलहरु, मठमन्दिरहरुमा पूर्वाधार निर्माण गर्नुका साथै काठेपुल तथ विद्युत पोल मर्मत र परिवर्तन, फुटकर पाइप र ग्याबिन तारजाली वितरण, जस्ता वितरण लगायत कार्यलाई निरन्तरता दिँदै आएको छ ।
गाउँपालिकालाई नेपालकै सातौँ स्थानीय तहको रुपमा पूर्ण अनलाइन ब्यक्तिगत घटना दर्ता गाउँपालिका निर्माण गरिएको छ । यस्तै सबै वडा कार्यालयहरु, स्वास्थ्य सस्थहरु, छ वटा माध्यमिक विद्यालयहरु र १५ वटा आधारभूत विद्यालयहरुमा शिक्षक र कर्मचारीहरुको इ–हाजिरीको ब्यवस्था गरिएको छ ।
यस्तै गाउँपालिकामा डिजिटल सूचना पर्टी र डिजिटल नागरिक वडापत्र राख्ने, कर्मचारीहरुको क्षमता विकास गर्ने, गाउँपालिकाको कार्यालय र थर्पू बजारमा सीसी क्यामेराको ब्यवस्था गरेको छ । यस्तै गाउँपालिकाका सेवाहरुलाई प्रभावकारी बनाउन विद्युतीय प्रणालीको ब्यवस्था गरिनुका साथै गाउँपालिका भित्र घरधुरी सर्वेक्षण गरी वस्तुगत विवरण तयार पारिएको तथा एकीकृत आवधिक योजना समेत तयार पारी कार्यान्वयनमा ल्याइएको छ ।
गाउँपालिकाले सबै स्वास्थ्य चौकीहरुमा वर्थिङ सेन्टरको स्थापना गरेको छ भने दुई वटा स्वास्थ्य चौकीमा ल्याब सेवा समेत स्थापना गरिएको छ । यस्तै स्थानीय स्वास्थ्य चौकीहरुमै भिडियो एक्स–रेको समेत ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने तथा नियमित गर्भजाँच गराउने महिलालाई पोषण आहार र पोषण भत्ता वितरण गरिएको छ ।
गाउँपालिकाले जिल्लामा पहिलो पटक भौगोलिक विकटता र कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसक्ने विद्यार्थीहरुका लागि च्याङथापूमा आवाशीय विद्यालय सञ्चालनमा ल्याएको छ । यस्तै लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षित राख्न गाउँपालिकाका दुई स्थानमा सुरक्षित आवासको ब्यवस्था गरिएको छ । किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ भने वडा नं. ४ लाई वालमैत्री वडा घोषणा गरिएको छ ।
यस्तै गाउँपालिका भित्रका १४६ जना ब्यक्तिहरुलाई अपाङ्गता पहिचान गरी परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाले निकट भविश्यमा कुष्टरोगविहीन गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित कार्य अघि बढाइरहेको छ । यस्तै महिलाहरुका लागि शीपमुलक तथा जनचेतनामुलक तालिम सञ्चालन गर्ने, जेष्ठ नागरिक सम्मान र समावेशी विकास कार्यक्रम सञ्चालन भइरहेको छ ।
गाउँपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरी आवश्यक सामग्रीको प्रवन्ध गरेको छ भने मेलमिलाप कार्यका लागि ३५ जना मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिइएको छ । जसकारण विवादहरुको मेलमिलापको माध्यमबाट समाधान खोज्न थालिएको छ ।
गाउँपालिकाले नर्सरी निर्माण गर्नुका साथै नर्सरीमा उत्पादित विरुवा ५० प्रतिशत छुटमा वितरण थालिएको छ । गाउँपालिकालाई तरकारी तथा अन्नबालीका आत्मनिर्भर बनाउन अनुदानमा विउविजन वितरण थालिएको छ । यस्तै वेमौसमी खेतीका लागि टनेल वितरण, आइपीएम पाठशाला सञ्चालन, अलैंचीमा लागेका रोग किरा नियन्त्रण, फौजी किरा नियन्त्रण, मिनिटिलर तथा आधुनिक अलैंची भट्टी वितरण र अन्य कृषि औजार वितरण छ ।
यस्तै पशुहरुको कृतिम गर्भाधान सेवा, प्राविधिक सेवा विस्तार, गोठ सुधार कार्यक्रम सञ्चालन, ब्यवसायिक फर्महरु विस्तार, मासुपसल सुधार, पशुनश्ल सुधारका कार्यक्रम समेत सञ्चालन गरिएको छ ।
याङवरक गाउँपालिकाले ५२ मौलो कालिका धाममा पार्किङ थ्ल निर्माण, पोखरी सरसफाई तथा घेराबारा निर्माण, निशान नचाई मारहान्ने स्थान निर्माण गरेको छ । यसैगरी याङवरक–१ स्थित लामपोखरीमा पर्यटकीय आवास गृह निर्माण र सडक निर्माण, तिम्बुपोखरी जाने सडक निर्माणको सुरुआत गरिएको छ ।
यस्तै गाउँपालिका भित्र सहकारीहरुको क्षमत अभिवृद्धि तालिम, लेखा ब्यवस्थापन तालिम, सहकारी ब्यवस्थापनमा सहयोग तथा नियमित अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ । गाउँपालिकाले विपत ब्यवस्थापन कोष निर्माण गरी राहतको प्रवन्ध गर्ने गरेको छ । गाउँपालिकाले आवश्यक पर्ने ऐनहरु निर्माण गरेको छ ।