नेपालमा देखियो सलह, एकैदिन तराईबाट पहाड समेत चढ्यो



फिदिम । शनिबार बिहान बाराको निजगढ–१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज हुन थाल्यो । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्रा बोट विरुवा बस्न थालिसकेको थिए । प्राविधिक आएर हेरेपछि भनिदिए, ‘नेपालमा पनि सलह भित्रिएछ ।’

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले भन्नुभयो, ‘अहिले खेतीपातीको समय भएकाले हाम्रो कृषि प्राविधिकहरु फिल्डमै हुनुहुन्थ्यो । उहाँहरुले विहानै देख्नु भएपछि हामीलाई खबर गर्नुभयो ।’

लगतै जिल्ला कृषि ज्ञान केन्द्र, बारामा खबर पुग्यो । लगतै खटिएको टोलीले नेपालमा सलह भित्रिएको पुष्टि गरेको केन्द्रका प्रमुख जितेन्द्र यादव बताउनुहुन्छ । ‘हाम्रो टोलीले हेर्दा पानी परिरहेको थियो र किराहरुको सानो झुण्ड रुखमा बसिरहेको थियो । पानी रोकिएपछि सलहले तरकारी बाली खान थाल्यो ।’

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ ।

छिमेकी पाकिस्तान र भारतमा किसानलाई दुःख दिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले दाबी गरेको थियो । तर मनसुन सुरु भएलगतै नेपालमा प्रवेश मात्र गरेन, एकै दिनमा बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ । सलहको हुलले एक दिनमा १३०देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय परिसरमा विहानै सलह भेटिएको थियो । सलहको विशाल झुण्ड त्यहाँका बोट विरुवामा झुम्मिएका थिए । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार शुक्रबार साँझ ८ बजेसम्म किरा देखिएको थिएन । बिहान सवा ६ बजेतिर किरा देखिन थाल्यो ।

अहिले हजारौंको संख्यामा जम्मा भएका छन् । ‘चना, धानका बोटहरु खाँदै छ, हामीले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गरायौं,’ उहाँले भन्नुभयो ।

उहाँकाअनुसार सलहले गर्ने क्षति कम गर्न स्थानीय र कृषि प्राविधिकहरुले विषादी छर्किनुका साथै थाल ठटाएका छन् । चर्को ध्वनीले सलह किरा भाग्छ ।

पर्साको पर्सागढी नगरपालिका–३ बढ्निहारस्थित चैते धानबालीमा शनिबार बिहानै सलहको बथान देखा परेको थियो । खेतमा काम गरिररहेका बेला हजारौंको संख्यामा सलहको बथान आफ्नो १९ कठ्ठाको धानबालीमा आएर बसेको किसान अर्जुन नेपालले बताउनुभयो । ‘बिहान म खेतमा आली लगाउन आएको थिए, अचानक फट्यांग्राको झुण्ड मेरै चैते धानबालीमा आएर बस्यो,’ उहाँले भन्नुभयो, ‘धानको डाँठ पनि खान थाल्यो, त्यसपछि बुबा, म र दाइ मिलेर धानबालीमा पसेर बोट हल्लायौं, फटयांग्राको बथान नजिकको जंगल तिर उडेर गयो ।’

सलह किरा रौतहटका विभिन्न स्थानीय तहमा पनि पलिकामा देखिएको छ । चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलहको हुल भेटिएको स्थानीयले बताएका छन् ।

भित्री मधेस हुँदै पहाड उक्लियो

तराईबाट नेपाल प्रवेश गरेको सलह किरा शनिबार नै भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेको छ । शनिबार दिउँसो रुपन्देहीको बुटवलमा देखियो । संघीय सरकारको कृषि मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यकाअनुसार बुटवलका स्थानीय बजार र त्यहाँका रुख विरुवा र बालीनाली तथा आकाशमा सलहको झुण्ड देखिएको छ ।

बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए । त्यस क्षेत्रमा दिउँसैबाट कृषि प्राविधिक खटिए । रुपन्देहीमा देखिएका सलह किरा पाल्पा र गुल्मीतर्फ लागेका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै मध्यान्हपछि मकवानपुरको तीन वटा गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । बकैया, मकवानुरगढी र वागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सलह देखिएको, तर क्षतिको जानकारी आएनसकेको बकैया गाउँपालिकाका कृषि प्रमुख शिवराज पौडेलले जानकारी दिनुभयो ।

बकैया–१ धियालका कृषक बिरबहादुर स्याङतानले बारी र आकाशमा धेरै संख्यामा सलह देखिएको जानकारी गाउँपालिकालाई दिएका थिए । बकैयाको १, २, ४ र ५ नम्बर वडाबाट किरा देखिएको छ । बकैयाका केहि वडामा देखिएका सलह बागमती गाउपालिकातर्फ गएको स्थानियले जानकारी दिएका छन् । मकवानपुरगढी गाउँपालिकाको पालुङटार र सुकौरामा पनि सलह देखिएको छ । त्यहाँका स्थानीयले सलह भगाउन सुख्खा माटोले छर्किने र आगो बालेर धुँवाउने काम गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभयो ।

सिन्धुलीको कमलामाई नगरपालिकाको भिमान माइस्थान, करकरे, मुडेखर्क, खुर्सानी डाँडा, चियाबारी, सिमबारी, लामिस्वारा क्षेत्रमा सलहको झुण्ड देखिएका छन् । धानको ब्याडदेखि मकैको बोट र जंगलका रुख विरुवामा सलह भेटिएका छन् ।

स्थानीय राजवीर विकका अनुसार मध्यान्हपछि एकाएक सलहको हुल देखिन थालेको थियो । स्थानीयले सलह भगाउन थाल र विभिन्न ठूला आवाज निस्कने भाँडाकुडा ठटाएका थिए । काभ्रेको डाँडापारी खानिखोला गाउँपालिकामा पनि सलह किरा देखा परेको छ । यसले शनिबार विहान तराईमा देखिएको सलह भित्री मधेस हुँदै पहाडी जिल्लाहरुमा पुगेको प्रष्ट भएको छ ।

सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

के भन्छ सरकार ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार एक प्रेश विज्ञप्ति जारी गर्दै साना–साना झुण्डमा छरिएर सलह नेपाल प्रवेश गरेको बताएको छ । मनसुन सुरु भइसकेको सन्दर्भमा खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलह किरा आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उसको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी यस किराको संभावित प्रवेशको सम्बन्धमा अनुगमन भइरहेको मन्त्रालयले जानकारी दिएको छ । यसअघि सलहबारे अध्ययन गर्न बनेको कार्यदलले कार्ययोजनासहित तयार पारेको प्रतिवेदन सबै सम्बद्ध निकायसहित प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई उपलब्ध गराइएको पनि मन्त्रालयको भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहवीच पर्याप्त सम्वाद र सहकार्यमा काम भइरहेको र सलहको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

‘प्राविधिकहरूको सम्पर्क र समन्वयमा रही यस किराको व्यवस्थापनमा सक्रिय रहनका लागि तीनै तहका सरकारका सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौं’ मन्त्रालयले भनेको छ ।

यस्तै प्रदेश ५ को भूमिव्यवस्था मन्त्रालयले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । ‘सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने निर्णय गरेका हौं’ सचिव तेजबहादुर वलीले भन्नुभयो ‘यस्तो रुकम वडा कार्यालयले दिन्छ ।’

कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह

नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो । यो कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको उल्लेख गरेको छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो ।

भारतको मध्यप्रदेशबाट आएको सलह फेरी राजस्थानतिरै फर्किएको, हावाको वहाव नआएको, झरी सुरु भैसकेकाले सलह नआउने कार्यदलको निश्कर्ष थियो । कार्यदलले सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले मनसुन सुरु भए पछि सलह आउँदैन भन्ने प्रतिवेदन दियो ।

सलह नेपालमा नभित्रिने सरकारी दाबी कसरी फेल खायो भन्ने चर्चा गर्नुअघि नेपालमा ६० वर्षपछि सलहको प्रवेश कसरी भयो भन्नेबारे चर्चा गरौंः

६० वर्षपछि नेपाल प्रवेशः यमनदेखि १७ महिने उडान

घाम नै छेलिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बन्छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् १९६० मा काठमाडौं उपत्यकामा सलह देखिएको थियो ।

त्यसबेला सलहको प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । केन्द्रका अनुसार ‘त्यसबेला काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको अध्ययनमा देखिन्छ ।

नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि नेपालका दुई जिल्ला बारा र सर्लाहीमा भित्रिएको छ । शनिबार बिहान बारा र सर्लाही जिल्लाका विभिन्न ठाउँमा सलह देखिएको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिए । सलहले तरकारी तथा धान बालीमा क्षति गर्न थालेको जिल्लास्थित ज्ञान केन्द्रहरुले जनाएका छन् ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् २०१९ सुरुवाती महिनामा अहिले नेपाल आइपुगेको सलह यमनमा देखिएको थियो । यमनबाट अघि बढेको सलह साउदी अरेबिया, इरान हुँदै सो वर्षको डिसेम्बरमा पाकिस्तान आइपुगेको थियो ।

पाकिस्तानमा ठूलो क्षति गरेको सलह नयाँ वर्ष सन् २०२० को सुरुवातमा भारत र पाकिस्तान सीमा क्षेत्रमा लामो समय रहेको थियो । विस्तारै जाडो कम भएपछि पुनः बंश वृद्धि भई सलह भारत छिरेर विशाल झुण्डहरुमा तयार भएको अध्ययनले बताएको छ । र, त्यो झुण्ड राजस्थानबाट प्रवेश गरेर मध्यप्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अघिल्लो महिना नै अगाडि बढेको थियो ।

मन्त्रालयको ‘हावा’ प्रतिवेदन

अघिल्लो महिना नै भारतमा सलह प्रकोप देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो ।

यस अघि पनि भारतको राजस्थानसम्म जुलाई महिना पटक पटक सलहको नयाँ झुण्डहरु आइरहने गरेको र अहिले आएको सलहको ठूलो झुण्ड पनि राजस्थान आइपुगेपछि तितर–बितर भएको प्रतिवेदनमा उल्लेख थियो ।

सलहका स–साना झुण्डले भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिए पनि सरकारी प्रतिवेदनमा सलह नेपाल छिर्ने परिकल्पना गरिएको थिएन । सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको विवरण सहदेव हुमागाइँ संयोजकत्वको समितिलाई दिएको थियो । एफएओको विशेष टोली भारतमा स्थलगत अध्ययनमा रहेको र उताको रिपोर्टमा पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको भन्ने आएको छ, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका हुमागाईँले भन्नुभयो ।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वाीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको थियो । समितिले तत्कालका लागि जोखिम टरे पनि विगतमा सलहले ठूलो क्षति निम्त्याएकाले सर्तकता अपनाउन भने मन्त्रालयलाई सुझाव दिएको थियो ।

सलह नियन्त्रणका लागि दक्ष प्राविधिक तयार गर्न तालिमको व्यवस्था गर्ने, किरा भित्रिएको खण्डमा नियन्त्रणका लागि स्रोत, साधनको यथोचित बन्दोबस्त गर्ने तथा तीनै तहको सरकारको तर्फबाट टास्कफोर्स बनाएर जिम्मेवारी बाँडफाँड गरेर तयारी अवस्थामा रहनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो, समिति संयोजक हुँमागाईले भन्नुभयो ।

मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भयो । सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह भित्रिएको देखिन्छ । ‘कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि मन्त्रालयका एक पूर्वसचिवले भन्नुभयो ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र अप्राविधिक अवलोकनको आधारमा बनाएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन ।’

कति गर्ला क्षति ?

विज्ञहरूका अनुसार सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई पुग्ने खाना बराबरको वनस्पती खान्छ । तराईमा धमाधम धान रोपाईँ भइरहेको छ भने पहाडमा मकै लगायतका बाली छन् ।

कृषि मन्त्रालयमा लामो समय काम गरेका पूर्व सचिव डा. हरि दाहाल सलह किरा जहाँ बस्छ त्यहाँको बाली समाप्त गर्ने बताउनुहुन्छ । उहाँ यसको झुण्ड कत्रो आउँछ र हावाको बहाव कस्तो हुन्छ भन्ने कुराले हेरेर मात्रै कति क्षति पु¥याउँछ भन्ने थाहा पाउन सकिने बताउनुहुन्छ ।

कृषि मन्त्रालयले बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको बताएको छ । पहाडसम्म पुग्छ कि पुग्दैन भन्न सकिदैन । पूर्व सचिव दाहाल भन्नुहुन्छ, ‘उत्तरबाट दक्षिण बग्ने गरी हावा चल्यो भने पनि क्षति कम हुन सक्छ ।’ मनसुनमा हावा पूर्वबाट पश्चितर्फ बग्ने भएकाले बारा–पर्साबाट सहल पूर्वतर्फ जाने संभावना बढी देखिन्छ । यद्यपि अहिले नै पूर्वमानुमान गर्नु धेरै हतार हुने दाहाल बताउँछन् ।

नियन्त्रणका उपाय

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । पचास वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अनपनाउन नसकेको जानकारहरू बताउँछन् ।

रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।

विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।

तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सलह जम्मा पारेर ल्याए किलोको २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा

प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।

‘सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भन्नुभयो ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ ।

३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।

धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील

मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट ग¥यो भने रोपाई नै हुन सक्दैन ।

सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’ भूमि व्यवस्थामन्त्री आरती पौडेलले भन्नुभयो, ‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसान दाजुभाइले सावधानी अपनाउनुपर्ने हुन्छ ।’

सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ । (अनलाइनखवरको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्