कोरोना भाइरसको महामारीसँग यसरी जुध्दैछ याङवरक



नेत्रप्रसाद कोइराला
थर्पू, (याङवरक)

संसार नै नोवल कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहँदा नेपालका अधिकांश जिल्लाहरुमा कोरोना भाइरसका सङ्क्रमितहरु फेला परेका छन् । पाँचथरमा हालसम्म १ हजार ९ सय जनाभन्दा बढीको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडीटी) छ भने तीन सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । पाँचथर जिल्ला भित्रै क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अन्य दुई पाँचथरमा घर भई झापाका क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएको पाँचथरको याङवरक गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि फागुन तेश्रो सातादेखि निरन्तर कार्यहरु अगाडि बढाउँदै आएको छ ।

भारतको सिक्किम तथा छिमेकी जिल्ला ताप्लेजुङसँग सीमा जोडिएको यस गाउँपालिकाले सीमा क्षेत्रमा सतर्कता सहित, कोभिड–१९ नियन्त्रण, रोकथाम र सतर्कताका कार्यहरु, राहत वितरण, क्वारेन्टाइन निर्माण ब्यवस्थापन तथा सञ्चालन लगायतका कार्यहरु गर्दै आएको छ ।

याङवरकले सङ्क्रमण फैलनबाट रोक्न सीमा क्षेत्रबाट हुने आवात–जावतमा कडाई गर्ने, गाउँपालिका भित्र सङ्क्रमणबाट बच्ने उपायबारे गाउँपालिकावासीलाई सचेत तुल्याउने, बाहिरबाट आएका गाउँपालिकावासीलाई क्वारेन्टाइनमा राख्ने, जारी लकडाउनका कारण दैनिकी गुजार्न समस्या परेका गाउँपालिकावासीहरुलाई राहत दिने लगायतका कार्य गर्दै आएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकाले कोभिड–१९ सँग जुध्न गाउँपालिका स्तरीय आपतकालीन ब्यवस्थापन समिति, शीघ्र उद्धार कार्य टोली, महामारी नियन्त्रण तथा रोकथाम समन्वय समिति लगायत समितिहरु गठन गरेको छ ।

यी समिति गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी योङहाङ, प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य लगायतको नेतृत्वमा गठन भई सक्रिय रहेका छन् । यस्तै गाउँपालिका स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम कार्यदल गठन गरी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु तथा गाउँपालिका भित्रका अन्य पक्षहरुको जिम्मेवारी बाँडफाँट समेत गरिएको छ ।

गाउँपालिकाको तत्ववधानमा गठित समितिहरुले कोभिड–१९ सँग जुध्ने कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । यस्तै याङवरकका ६ वटै वडाहरुमा समेत कामको प्रकृतिअनुसारका समितिहरु गठन गरिएका छन् । गाउँपालिकाले वडा स्तरबाटै क्वारेन्टाइनहरुको ब्यवस्थापन गर्ने नीति लिएको छ ।

गाउँपालिकाले फागुन ३० गते याङवरक–१ स्थित च्याङथापू बजारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको थियो । गाउँपालिकाकै स्रोत साधन र जनशक्तिबाट हालसम्म सञ्चालित उक्त सहायता कक्षले नेपालसँग सीमा जोडिएको भारतको सिक्किमबाट चिवाभञ्ज्याङ नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्ने, कोभिड–१९ सम्बन्धी जानकारी दिने तथा आवश्यक सतर्कताका लागि सहयोग गर्ने काम गर्दै आएको छ ।

याङवरक गाउँपालिकाले अन्य स्थानीय तहमा जस्तै विदेशबाट आएका ब्यक्तिहरुको लगत सङ्कलन, विदेशबाट आएका ब्यक्तिहरु सहित उनीहरुको सम्पर्कमा पुगेकाहरुलाई समेत क्वारेन्टाइनमा दुई साता राखी, शीघ्र डाइग्नोष्टिक परीक्षण गरी होम क्वारेन्टाइनमा बस्न घर पठाएको छ । उक्त कार्यमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सक्रियता रहेको छ ।

बाहिरबाट आउनेहरुलाई राख्न याङवरकमा ७८ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जसअनुसार वडा नं. १ च्याङथापूमा विष्णु माध्यमिक विद्यालयमा १६ वेड, वडा नं. २ फलैंचामा वडा कार्यालयमा ११ वेड, वडा नं. ३ ओयाम स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा १५ वेड, वडा नं. ४ र ५ का लागि थर्पू माध्यमिक विद्यालयमा २१ वेड तथा वडा नं. ६ का लागि गणेश माध्यमिक विद्यालयमा १५ वेडको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिनुभयो ।

यी क्वारेन्टाइनमा हालसम्म १३३ जना ब्यक्तिहरु बसेका छन् । जसमध्ये १६ जना विदेशबाट आएका हुन् । पहिलो चरणमा चैत महिना लागेयता विदेशबाट आएका तथा तिनको सम्पर्कमा पुगेका २२ जना ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । दुई साता क्वारेन्टाइनमा राखी शीघ्र डाइग्नोष्टिक परीक्षणपछि उनीहरुलाई घर फर्काइएको थियो ।

दोश्रो चरणमा काठमाण्डौँबाट फर्केका ब्यक्तिहरु, पाँचथर बाहिरबाट आएका ब्यक्तिहरु लगायतलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको आरडीटी गरी घर पठाइएको थियो । तेश्रो चरणमा देशकै विभिन्न स्थानबाट आएका तथा पछिल्लो समय विदेशबाट आएका १६ सहित देशकै विभिन्न स्थानबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखी आरडीटी तथा पीसीआर गरिएको थियो ।

गाउँपालिकाले विदेशबाट आएकाहरु, केही शंकास्पदहरु त्था विदेशबाट आएको ब्यवस्थापनमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी २४ जनाको पीसीआर गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले जानकारी दिनुभयो । गाउँपालिकाले १४ जनाको भने आरडीटी र पीसीआर दुवै विधिबाट परीक्षण गरेको छ । क्वारेन्टाइनमा राखिएका सबैको आरडीटी गरिएको थियो ।

शीघ्र परीक्षणका क्रममा याङवरकका एक ब्यक्तिको शीघ्र डाइग्नोष्टिक परीक्षण (आडीटी) पोजेटिभ देखिएको थियो । ती ब्यक्ति सहित उनीसँग क्वारेन्टाइनमा सँगै बसेका ब्यक्तिहरुको स्वाब परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको याङवरक गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रविन खत्रीले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकामा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकका लागि अत्यावाश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रवन्ध, गाउँपालिकावासीलाई स्वास्थ्य सामग्री एवम् सुरक्षाका सामग्रीको प्रवन्ध गर्ने प्रयत्न समेत भएको छ । गाउँपालिकाले खरिद गरेका ४ हजार ५ सय थान, नेकपा पाँचथरले उपलब्ध गराएका तीन हजार थान र एनएलआरले उपलब्ध गराएका १५० थान गरी ७ हजार ६५० थान मास्क वितरण गरिएको छ ।

यस्तै तीन सय थान सेनिटाइजर वितरण गरिएको छ भने कोभिड–१९ बाट बच्ने उपायसम्बन्धी जानकारीमुलक प्रचार सामग्री निर्माण गरी वितरण गरिएको छ । यस्तै गाउँपालिकाले माइकिङ मार्फत प्रचार–प्रसारको कार्य समेत जारी राखेको छ । याङवरक गाउँपालिकाले क्वारेन्टाइन तथा कोभिड–१९ सँग सम्बन्धित क्षेत्रमा खट्ने ३४ जना स्वास्थ्यकर्मीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा उपकरणको प्रवन्ध गरेको छ । गाउँपालिकामा हाल केही थान ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मौज्दात रहेको स्वास्थ्य शाखाका प्रमुख खत्रीले वताउनुभयो ।

गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आकस्मिक कोष समेत खडा गरेको छ । उक्त कोषबाटै गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका काममा रकम खर्च गर्दै आएको छ ।

उक्त कोषमा गाउँपालिकाको आकस्मिक कोषमा रहेको १० लाख रुपैयाँ, प्रदेश सरकारले उपलब्ध गराएको ५ लाख रुपैयाँ, याङवरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबाट सङ्कलित ३ लाख ७ हजार रुपैयाँ, साहरा नेपाल सहकारीबाट २५ हजार रुपैयाँ, ओयाम वचत तथा ऋण सहकारी संस्थाबाट २० हजार रुपैयाँ र पाँचथर उद्योग वाणिज्य संघबाट ५१ हजार रुपैयाँ गाउँपालिकाको उक्त कोषमा जम्मा भएको छ ।

गाउँपालिकाले जारी लकडाउनका कारण दैनिकी गुजार्न समस्या परेका परिवारहरुलाई राहत समेत वितरण गरिसकेको छ । गाउँपालिकाले सात हजार पाँच सय किलो चामल, तीन सय लिटर तेल, छ सय किलो दाल, छ सय थान साबुन र तीन सय किलो नुन गाउँपालिका भित्रका ३३१ परिवारलाई वितरण गरेको छ । यस क्रममा पाँचथर उद्योग वाणिज्य संघ थर्पू शाखाले सवै वडासम्म निःशुल्क रुपमा राहत सामग्री ढुवानी गरिदिएको थियो ।

गाउँपालिकाले राहत वितरण गर्नुपर्ने केही परिवारलाई श्रममा लगाएर समेत राहत दिएको छ । यहाँ निर्माणाधीन भवन तथा सडकका लागि आवश्यक गिटी कुट्ने, पर्खाल लगाउने, हमपाइप राख्ने लगायत काममा उनीहरुलाई खटाई उपयुक्त ज्याला प्रदान गरी जिविकोपार्जनको आधार तयार पारिएको थियो ।

गाउँपालिकालाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पाँचथर, स्वास्थ्य कार्यालय पाँचथर, नेकपा पाँचथर, एनएलआर विराटनगर लगायत निकाय तथा संस्थाबाट पीपीई, थर्मलगन, ग्लोब्स, सर्जिकल ग्लोब्स, सिमकार्ड, सेनिटाइजर, क्लोरिन लगायत सामग्री प्राप्त भएका थिए । सबै पक्षको सक्रियतामा कोभिड–१९ बाट बच्न सचेतना, सतर्कता, रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा अघि बढेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले वताउनुभयो ।

सङ्कटको घडिमा गाउँपालिकावासीले सरकारले घोषणा गरेको लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न सघाउ पु¥याउन, कोभिड–१९ सँग लक्षण मिल्ने विरामी भेटिए चाँडो स्वास्थ्य संस्थामा पु¥याउन, बाहिरबाट फर्केका सबै ब्यक्तिहरुको स्वास्थ्य परीक्षण एवम् क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाउन, समस्यामा पर्ने छरछिमेकीलाई सहयोग गर्न, सामाजिक दूरी कायम गरी काम गर्न सहयोग गाउँपालिकाले आव्हान समेत गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यका अनुसार कोरोनाको महामारी तथा लकडाउनका वीच पनि गाउँपालिकामा विकास निर्माणका कार्यहरु जारी रहेका छन् । वडास्तरबाट सञ्चालित सबै योजनाहरुको काम सम्पन्न गर्ने तथा गाउँपालिका स्तरका समेत सम्पन्न गर्नैपर्ने योजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ गाउँपालिकाले विकास निर्माणका कार्यहरु अघि बढाएको छ । कोरोना भाइरस सङ्क्रमणको रोकथामलाई केन्द्र भागमा राखेर गाउँपालिकाले अन्य कार्यहरुमा जोड दिँदै आएको आचार्यले वताउनुभयो ।

गाउँपालिकाले कोरोनाको महामारीकै वीचमा गाउँसभाको तयारी समेत गरिरहेको छ । असार दोश्रो साता हुने गाउँसभाका लागि टोल स्तरमा योजना छनौट गर्ने, वडा स्तरमा छनौट तथा छलफल गर्ने, गाउँपालिकाका विषयगत समितिहरुमा योजनाको छनौट तथा प्राथमिकीकरणको नीतिगत प्रवन्ध जस्ता कामहरु गाउँपालिकाले अघि बढाइरहेको छ ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गरेको गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले वताउनुभयो । (याङवरक सन्देश मासिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्