कोरोना इपिसेन्टर कचनकवल: १२९ संक्रमितमध्ये १२६ जना निको



फिदिम । कोरोना भाइरस (कोभिड(१९) को इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका संक्रमितहरु उपचारपछि धमाधम निको भएर घर फर्किन थालेका छन् ।

भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका कचनकवलबासी स्वदेश फर्किएपछि कोरोना भाइरसको संक्रमितको संख्या ह्वात्तै बढेको थियो । महिना दिनकै अवधिमा कचनकवलमा संक्रमितको संख्या १२९ पुगेको थियो । त्यहाँ भेटिएका संक्रमितको संख्या प्रदेश १ कै स्थानीय तहमा सबै भन्दा बढी हो ।

भारतको दिल्ली, मुम्बई, चेन्नई, गुजरात, तमिलनाडू लगायतका संक्रमित क्षेत्रबाट आएका गाउँबासीलाई गाउँपालिकाले सीमाबाटै उद्धार गरी सोझै क्वारेन्टाइनमा लगेर राखेका थिए । क्वारेन्टाइनमा बसेका उनीहरूको त्यहीँबाटै स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि विराटनगर र धरान पठाइएको थियो ।

त्यहाँबाट रिपोर्ट आउन थालेपछि दिनैपिच्छे गाउँपालिकामा संक्रमितको संख्या थपिन थाल्यो । संक्रमितको संख्या थपिँदै गएपछि जनसमुदायमा संक्रमण फैलिने त्रास स्थानीयमा देखियो ।

गाउँपालिकामा पुष्टि भएका १२९ जना कोरोना संक्रमितमध्ये १२६ जना उपचारपछि निको भएर घर फर्किसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । ‘बाँकी तीन जना संक्रमितको उपचार भइरहेको छ, उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ,’ उहाँले भन्नुभयो, ‘उनीहरू पनि चाँडै निको भएर फर्किन लागेको बुझिएको छ ।’

उनका अनुसार क्वारेन्टाइनमा बसेका ६१ महिला र ६४१ पुरुष गरी ७०२ जनाको स्वाब संकलन गरिएको र त्यसमध्ये १२९ जनाको पोजेटिभ रिपोर्ट आएको हो । बाँकी ५७३ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले वताउनुभयो । कर्मचारी, स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी आरडीटी र पिसिआर गरी जम्मा एक हजार ८२ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ ।

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका अधिकांश घर फर्किसकेको बताउँदै भन्नुभयो “शनिवार मात्रै ४२ जनाको स्वाब परीक्षण गरी पिसिआरका लागि पठाएका छौँ ।” अब गाउँपालिकालाई कोरोनामुक्त बनाउने अभियानमा यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी लागि परेको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भन्नुभयो, ‘सबैको सहयोगमा गाउँपालिकालाई संक्रमितमुक्त बनाउने अभियानमा लागि परेका छौँ ।’

गाउँपालिकाको गाउँ सभालाई समेत सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘कचनकवलमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढेको थियो, तर सङ्क्रमितलाई नियन्त्रण गर्न र समाजमा फैलिन नदिन यहाँका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नागरिक समाज र प्रहरी प्रशासनले महत्त्वपूर्ण भूमिका निर्वाह ग¥यो, जसको परिणामले संक्रमितहरु निको भएर घर फर्किन थालेका छन् ।’

अहिले क्वारेन्टाइनमा बसेकाहरूलाई पनि रिपोर्टको आधारमा धमाधम घर पठाउने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो ‘सबैलाई घरमै बस्न, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम काम गर्न सचेत पनि गराइँदैछ ।’ उनीहरूको मनोबल उच्च बनाउन सबै तह लागि परेको उहाँको भनाई छ । (थाहाखवरबाट साभार)

प्रतिक्रिया दिनुहोस्