कोभिड–१९ सङ्क्रमण रोकथाममा केन्द्रित हुँदै गाउँपालिकाका कामहरु अगाडि बढाइरहेका छौँ



कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको महामारी तथा उक्त महामारी फैलन नदिन घोषणा गरिएको लकडाउनको झण्डै तीन महिना वितिसकेको छ र पछिल्लो समय लकडाउन केही खुकुलो पारिएको छ । सङ्क्रमणको त्रास र लकडाउनले सबै क्षेत्र प्रभावित छ । आर्थिक वर्ष अन्त्य हुन लागेको तथा विकास निर्माणका कार्यहरु द्रूत गतिमा अघि बढ्ने समयमा आएको यस अवरोधले सबै तहका सरकारका कामहरुलाई प्रभावित तुल्याएको छ ।

साथै कोभिड–१९ सङ्क्रमणको महामारीसँग अझै धेरै जुध्न बाँकी छ । यस्तो अवस्थामा भारतको सिक्किमसँग सीमाना समेत जोडिएको पाँचथरको याङवरक गाउँपालिकामा कार्यसम्पादन कसरी भइरहेको छ ? कोभिड–१९ सङ्क्रमणको महामारी र लकडाउनबाट उत्पन्न परिस्थिति र यसपछि गाउँपालिका कसरी अघि बढ्छ ? भन्ने लगायत जिज्ञासाको उत्तर याङवरक सन्देशले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यबाट खोजेको छ । प्रस्तुत छ याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यसँगको रवीन्द्र काफ्ले र नेत्रप्रसाद कोइरालाले गरेकोकुराकानी :

लकडाउन र कोरोना भाइरस (कोभिड–१९) को प्रभावले गाउँ कार्यपालिकाको कार्यसम्पादनमा के–कस्तो पारेको प्रभाव पारेको छ ? कसरी काम गरिरहनुभएको छ ?

– कोभिड–१९ले संसारलाई नै प्रभाव पारेको छ । हाम्रो याङवरक गाउँपालिका पनि प्रभाव पारेको छ । तर यहि प्रभावकै वीचमा काम गर्नुपर्ने अवस्था पनि छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र सङ्क्रमण रोकथामका लागि विभिन्न गतिविधिहरु केन्द्रित गर्दै गाउँपालिकाका चालु वर्षका योजनाहरु सञ्चालन गरिरहेका छौँ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका सन्दर्भमा हामीले बाहिरबाट आउने याङवरकवासीहरुलाई क्वारेन्टाइनमा राख्न ५ वटा क्वारेन्टाइनको ब्यवस्था गरेका छौँ । तत्काललाई गणेश मावि वडा नं. ६, थर्पू मावि वडा नं. ४, गुप्तेश्वर मावि वडा नं. ३, वडा नं. २ को कार्यालय र विष्णु मावि वडा नं. १ मा ७८ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

भविश्यमा एक सय बेडभन्दा माथि पु¥याउनु परे पनि हामी पूर्वतयारी अवस्थामा छौँ ।
कोरोना प्रभावित क्षेत्र तथा विदेशबाट यहाँका नागरिकहरु आउने क्रम जारी छ । त्यस्ता नागरिकहरु आएपछि उहाँहरुलाई क्वारेन्टाइनमा राख्ने, त्यहाँ राखेर आरडीटी परीक्षण गर्ने वा स्वाब संकलन गरी परीक्षणका लागि पठाउने प्रवन्ध मिलाएका छौँ । त्यसका लागि आवश्यक सामग्रीहरु तम्तयार अवस्थामा छ । गाउँपालिका आफैँले खरिद गरेर यी सामग्री राखेको छ । आवश्यक पर्दा हामी परीक्षणको प्रवन्ध गर्न सकिन्छ ।

कोभिड–१९ ब्यवस्थापनका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरु, सबै स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेका छौँ । स्वास्थ्यकर्मीहरुलाई हेल्पडेस्क र क्वारेन्टाइनमा खटाइएको छ । सबै वडामा वडा समितिहरुलाई क्वारेन्टाइन ब्यवस्थापनको जिम्मा दिएका छौँ । बाहिरबाट आएका मानिसहरुलाई निगरानी, काउन्सिलिङ गर्ने काम सबै पक्ष लागेर भइरहेको छ ।

लकडाउन र संक्रमणको त्रासले हाम्रा कति योजना प्रभावित हुन्छन् ? कति योजनाहरु सम्पन्न नहुन सक्छन् ?

– मुलुक नै स्वास्थ्य संकटको अवस्थामा छ । लकडाउन र संक्रमणको त्रासका कारण योजनाहरुमा प्रभाव त पर्छ नै । यस्तै हामीलाई संघीय सरकारले दिने भनेको राजश्व बाँडफाँटको ६ करोड ८७ लाख रकममध्ये हालसम्म ३ करोड ९४ लाख मात्रै प्राप्त भएको छ । त्यस्तै प्रदेश सरकारबाट पनि राजश्ब बाँडफाँटको रकम प्राप्त हुन सकेको छैन् । अव अहिलेको अवस्थालाई हेर्दा हामीलाई तीन करोडभन्दा माथि रकम कम प्राप्त हुने अवस्था छ ।

यसले निश्चय नै हाम्रा योजनाहरु प्रभावित हुन्छन् । हामीले त्यो सबै रकमलाई बजेटको रुपमा राखेर गाउँसभाबाट योजना बनाइएको छ । तर भनेजति नआएपछि झण्डै तीन करोडका योजना कटौती गर्नुपर्ने अवस्था छ । सरकारलाई राजश्व नै नउठेपछि राजश्व बाँडफाँटको रकम आउँदैन् । उक्त रकम नआएपछि योजनाहरु स्वभावत प्रभावित हुन्छन् ।

यस्तो अवस्था आएपछि अहिले हामीले केही गाउँपालिका स्तरका योजनाहरुको सम्झौता रोकेका छौँ । वडास्तरका योजनाको भुक्तानी दिन सकिने आँकलन गरिएको छ । र, वडास्तरका योजनाहरु सम्पन्न पनि हुन्छन् । बजेट अभाव हुने भएकाले पालिकास्तरका केही योजनाहरुको सम्झौता रोकिएको छ ।

कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनका कारण अहिले ठूलो युवाशक्ति गाउँमा आएको अवस्था छ । युवा शक्तिलाई परिचालन गरी गाउँपालिकालाई आत्मनिर्भर तथा समृद्ध बनाउने यो अवसर पनि हो । गाउँमा आएका युवाहरुलाई के–कस्ता क्षेत्रमा परिचालन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ ? उनीहरु गाउँमै बस्ने अवस्था कसरी निर्माण गर्न सकिन्छ ? र, यसमा गाउँपालिकाले के कस्ता योजनाहरु बनाइरहेको छ ?

– अवश्य नै संघीय सरकारले पनि निर्देशित गरेको छ । गाउँपालिकाले पनि बाहिरबाट आएका जनशक्तिहरुलाई उपयोग गर्दै, उत्पादनमा जोड्दै, रोजगारी प्रदान गर्दै याङवरक गाउँपालिकाको आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौँ । हाम्रो भिजन पनि यहि हो ।

रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु छलफलका क्रममा छन् र गाउँसभा अघि ती सबै निक्र्यौलमा पुग्छन । युवाहरुलाई शीपमुलक तालिम प्रदान गर्ने, आयआर्जनका कार्यमा जोड्ने, विशेष गरेर कृषि र पशुपालनमा जोड्नेगरी कार्यक्रमहरु तय गर्दैछौँ । आगामी कार्यक्रमहरु त्यतैतिर लक्षित हुनेछन् । रोजगारी सिर्जनामा हामी सफल हुनेछौँ भन्ने हाम्रो आशा र अपेक्षा छ ।

गाउँपालिकाले आवधिक योजनाहरु पनि तय गरिसकेको छ । बजेटमा भएको कटौती तथा असहज अवस्थाले आवधिक योजनामा कस्तो असर पार्ला ?

– बजेटमा भएको कटौती आवधिक योजनामा असर त पार्छ नै । तर यो आवधिक योजना लागू भएको पहिलो वर्ष हो । हामीसँग थप चार वर्षहरु बाँकी नै छन् । सधैँ यस्तै अवस्था रहला भन्ने छैन् । कोभिड–१९ संक्रमणको महामारी र लकडाउनबाट पाठ सिक्दै, यसबाट बच्दै, यसलाई अवसरको रुपमा लिँदै हामीले याङवरकको समृद्धि खोज्नुपर्छ ।

त्यसको लागि हाम्रो स्रोत साधनहरु, संघीय र प्रदेश सरकारबाट प्राप्त स्रोत साधनहरुको महत्वम उपयोग गर्दै आर्थिक विकास, सामाजिक विकास अन्तर्गत कृषि र पशुपालनको आधुनिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्दै आगामी आर्थिक वर्षका योजनाहरु निर्माण हुनेछन् । हाम्रो आवधिक योजनाले पनि यी र यस्तै कुराहरुलाई प्राथमिकतामा राखेको अवस्था छ । यीनै काम गरेर अघि बढ्दै जाँदा आवधिक योजनाले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि आत्तिहाल्नु पर्ने अवस्था चाहीँ छैन् ।


अहिले पनि आम उपभोक्ताहरुको मूख्य जोड पूर्वाधार विकासमा रहेको छ । तर गाउँपालिकाले कृषि, पशुपालन लगायतमा आधारित उद्यमशिलतामा जोड दिने कार्यक्रमहरु ल्याउन लागेकोे छ । यसको तादम्यता कसरी मिलाउनुहुन्छ ?

– हाम्रो बुझाई र आवश्यकतामा केही फरक परेको हुनसक्छ । क्रमश विकाससम्बन्धी मान्यतामा परिवर्तन हुँदै जान्छ । विकास भनेको भौतिक पूर्वाधार विकास मात्रै होइन्, आर्थिक विकास, सामाजिक विकास पनि विकासको आधारस्तम्भ हो । आर्थिक र सामाजिक रुपमा समृद्धि हाँसिल नगरेसम्म त्यसलाई समग्र विकास भएको मानिदैन् । विकासलाई पनि बुहआयामिक रुपमा हेनुपर्छ ।

एउटा मात्रै पक्ष, पूर्वाधार विकास मात्रै विकास होइन् भन्ने हामीले बुझ्नुपर्छ । त्यसैले उत्पादन विशेषत ब्यवसायिक उत्पादन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य लगायत समेत जोड दिइयो भने पूर्वाधार विकाससँग सँगसँगै जानसक्छ । पूर्वाधार विकास पनि चाहिन्छ, तर अहिलेको परिस्थितिमा सामाजिक र आर्थिक विकासमा जोड दिएरै जानुपर्ने आवश्यकता छ । सबै पक्षबाट त्यस्तो धारणा बन्न सक्योभने हामी समृद्धिको लक्ष्यमा पुग्न सक्छौँ ।

हाम्रो स्थानीय तहमा ब्यवसायिक उत्पादन हुनसक्ने क्षेत्र भनेको कृषि र पशुपालन हो । तर त्यसमा धेरै ठूलो लगानी आवश्यक पर्ने देखिन्छ । हामीलाई प्राप्त हुने बजेट समेत घटिरहेको छ । यसका लागि थप बजेट प्रवन्ध गर्नुपर्ने आवश्यकता छ । यसका लागि यहाँहरुले के कस्तो पहल गर्नुहुन्छ ?


– आगामी वर्षका लागि संघीय सरकारले घरेलु तथा साना उद्योगमा ससर्त अनुदानतर्फ निकै ठूलो रकम छुट्टयाइसकेको अवस्था छ । उद्यमी विकास, उद्यमशिलता विकास र उद्यमशिलता शीपमुलक कार्यक्रमलाई कार्यक्रम प्राप्त भएको छ । यस्तै प्रधानमन्त्री रोजगार कायृक्रम मार्फत रोजगारी सिर्जनाका लागि ठूलो बजेट प्राप्त भएको छ । यस्तै कृषि र पशुको ब्यवसायिक विकासका लागि गाउँपालिकाले पनि केही कार्यक्रम अवश्य नै बनाउनेछ । संघीय सरकारबाट पनि यी क्षेत्रमा ठूलो बजेट आएको छ । बाख्रापालनलाई ब्यवसायिक बनाउन ठूलो रकम प्राप्त भएको छ ।

यस्तै ब्यवसायिक फलफूल उत्पादनमा पनि बजेट प्राप्त भएको छ । यीनै कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले समेत कार्यक्रम र बजेट तय गर्छ नै । अहिले ती सबै कुराहरु छलफलकै क्रममा रहेकाले यकिन त भन्न सकिन्न । तर यस्तै कार्यक्रमहरु, ब्यवसायिक उत्पादन, रोजगारी सिर्जना मार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहितको बजेट गाउँपालिकाले निर्माण गर्नेछ । अन्य पूर्वाधार तथा ब्यवसायिक विकासका क्षेत्रमा थप बजेट र कार्यक्रमका लागि पनि हामीले पहल गर्नेछौँ ।

यहाँ याङवरक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउनुभई यहाँको भौगोलिक, सामाजिक रुपमा नजिकबाट परिचित भइसक्नु भएको छ । यहाँले गाउँपालिकावासीलाई दिने सन्देश के छ ?

– याङवरक गाउँपालिका स्रोत साधनको उपलब्धताका दृष्टिले धनी छ । यी स्रोत साधनहरुको सदुपयोग र महत्वम उपयोग गर्न सके हामीलाई समृद्धि हाँसिल गर्न सहज नै हुन्छ । यहाँका गाउँपालिकावासीहरु रचनात्मक, सक्रिय र शिर्जनशील हुनुहुन्छ ।

गाउँपालिकावासीहरुलाई आयआर्जन र उत्पादनमा जोड्न सकियो र उत्पादित सामग्री बजार खोजेर बजार सुनिश्चित गर्न सकियो भने हामीले खोजेको समृद्धिमा पुग्न सक्छौँ । यसका लागि सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, यहाँका नागरिकहरु र सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता छ । यसका लागि म सबैलाई अपील पनि गर्न चाहन्छु । (याङवरक सन्देश मासिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्