नेपालमा कोरोनाका १० हजार सङ्क्रमितः के छ अरु तथ्याङ्क ?



फिदिम । नेपालमा दुई दिनअघि कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या १० हजार नाघेको थियो । हिँजो थप ६२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल संख्या १०,७२८ पुगेको छ । तीमध्ये २४ जनाको मृत्यु भएको छ भने २,३३८ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,८२८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको संख्या १,९३,१९४ पुगेको छ ।

अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड–१९ पुगिसकेको पुष्टि भएको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।

अहिले देशभरि ७८,६३९ जना क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा छन् । (बीबीसी नेपालीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्