

फिदिम । नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको ठीक पाँच महिनामा कुल सङ्क्रमित संख्या १० हजार नाघेको छ ।
नेपालमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण गत वर्ष माघ ९ गते देखिएको थियो । चीनको वुहानबाट फर्केका पुरुषमा देखिएको सङ्क्रमणको दुई महिनापछि चैत्र १० गते दोस्रो सङ्क्रमण देखा परेको थियो ।
अहिलेसम्म नेपालमा सङ्क्रमण पुष्टि भएका १० हजारभन्दा बढी को हुन् ? कहाँका हुन् ? र कुन उमेर समूहमा हुन् ? बीबीसी न्यूज नेपालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कलाई केलाएको छः
प्रदेश/जिल्ला
नेपालमा सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं २ मा रहेका छन् । त्यहाँ ३,२४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसपछि प्रदेश नं ५ मा २,८०९ जनामा सङ्क्रमण भएको छ । त्यहाँ सङ्क्रमण धेरै हुनुका कारण भारतबाट फर्किएका धेरैमा सङ्क्रमण देखिनु रहेको बताइन्छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार नेपालमा सङ्क्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएका नेपालीहरू छन् ।
वाग्मती प्रदेशमा सबैभन्दा कम ३२७ सङ्क्रमित रहेका छन् । जिल्लाका हिसाबले १४ जिल्लामा २०० भन्दा बढी सङ्क्रमित रहेका छन्।
उमेर समूह
उमेरगत हिसाबले सबैभन्दा बढी सङ्क्रमित २१ देखि ३० वर्षका रहेका छन् । सङ्क्रमितमध्ये सयकडा ३८ जना यो उमेर समूहको रहेका छन् ।
नेपालमा सङ्क्रमण भएकामध्ये ५० वर्षभन्दा बढी उमेरका निकै कम रहेका छन् । कुल सङ्क्रमितको ४.२४ प्रतिशत अर्थात प्रति ४०० सय सङ्क्रमितमा १७ जना सो उमेर समूहका हुन् ।
जनस्वास्थ्यविज्ञ डा. शरद वन्तका अनुसार नेपालमा युवाहरूको जनसंख्या धेरै रहेको र उनीहरू श्रमका लागि भारत लगायतका देशहरूमा गएका कारण युवाहरू धेरै सङ्क्रमित भएका हुन् ।
महिला कि पुरुष ?
डा. पाण्डेका अनुसार नेपालमा सङ्क्रमितमध्ये करिब ९५ प्रतिशत विदेशबाट आएका नेपाली श्रमिकहरू छन् । त्यसमध्ये धेरै भारतबाट आएका व्यक्तिहरू छन् ।
त्यस्तै सङ्क्रमित हुनेहरूमा ९२ प्रतिशत पुरुष छन् । मृत्यु हुनेहरूमा भने २० प्रतिशत महिला रहेका छन् । “उहाँहरू श्रमका लागि विदेश जानुभएको छ र फर्कँदा सङ्क्रमित भएर नेपाल आएको देखिन्छ” उनले भने ।
सङ्क्रमितमध्ये करिब ९८ प्रतिशतमा लक्षण नदेखिएको डा पाण्डेले बताए । अहिलेसम्म २,२२४ जना निको भएर अस्पतालबाट फर्किसकेका छन् । त्यो भनेको सङ्क्रमितको सयकडा २२ जना हुन् ।
निको भएकामध्ये १८९ महिला रहेका छन् । सङ्क्रमितमध्ये ७,८५१ जनाको चिकित्सकीय निगरानीमा एक्ल्याएर उपचार भइरहेको छ ।
कसको मृत्यु भयो ?
सङ्क्रमित १० हजारमध्ये २४ जनाको मृत्यु भएको छ । ती १६ जिल्लाका १९ पुरुष र पाँच महिला हुन् । कैलाली र गुल्मीका ३–३ जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका २–२ जनाको मृत्यु भएको छ ।
त्यस्तै कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, स्याङ्जा , बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका १–१ जनाको मृत्यु भएको छ । उमेरका हिसाबले सबैभन्दा बढी ४१ देखि ५० वर्षका छ जना र ५१ देखि ६० वर्षका पाँच जनाको मृत्यु भएको छ ।
दुई र पाँच वर्षका बालकहरूदेखि ७६ वर्षीया वृद्धसम्मको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १४ जनामा पहिलेदेखि नै कुनै रोग रहेको डा पाण्डेले बताएका छन् । मङ्गलबारसम्मको आँकडामा ७ जना सघन उपचार कक्षमा रहेको अनि २ जनालाई भेन्टिलेटरमा राखिएको उनले बताए । (बीबीसी नेपालीबाट)