७६ जिल्लामा कोरोना, सङ्क्रमितको संख्या १० हजार नजिक



फिदिम । नेपालका ७७ मध्ये ७६ जिल्लामा कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । देशब्यापी फैलिएको कोरोना भाइरसका सङ्क्रमितको कूल संख्या १० हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५३५ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ । ७७ जिल्लामध्ये रसुवामा भने अहिलेसम्म कोरोनाका बिरामी भेटिएका छैनन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।

आज पिसिआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यस्तै, आरडिटी विधिबाट आज ५ हजार ९ सय २९ गरी २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन् ।

७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्