सांसद् बसे क्वारेन्टाइनमा



फिदिम । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टिनमा बसेका छन् । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका हुन् ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिनुभयो । “म शनिबारबाट गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको छु, क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर त्यसलाई समाधानमा लागि पनि पहल गरिरहेको छु” सांसद् किराँतीले भन्नुभयो ।

मानिसमा पहुँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्य रुपमा पालन गर्नुपर्ने समेत किराँतीले बताउनुभयो । “हामीमा पहुँचको आधारमा विभिन्न ढङ्गले सरकारले जारी गरेको नीति नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ, यसले सर्वसाधारण जनता मारमा छन्, नियम सबैको लागि बराबर हुनुपर्छ, त्यसैले म जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गर्दैछु”, सांसद किराँतीले भन्नुभयो ।

क्वारेन्टिनमा बसेर विभिन्न सुधारात्मक कामसमेत गरेको सांसद किराँतीले बताउनुभयो । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्ने समेत किराँतीको भनाइ छ ।

सांसद् किराँतीले भन्नुभयो “काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आए पनि वर्तमान प्रावधानअनुसार म क्वारेन्टिनमा बसेको हुँ, यो सबैले मान्न जरुरी छ, क्वारेन्टिनमा भौतिक दूरी कायम गर्दै स्थानीय सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारणसँग संवादसमेत गर्दै आएको छु, यसले पनि मलाई जिल्लाका विभिन्न समस्या बुझ्न सहयोग पुगेको छ ।”

राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसदमा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिन गृहजिल्ला आउनुभएको हो । निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उहाँको भनाइ छ ।

क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उहाँले जानकारी दिनुभयो । “तल्लोस्तरका मानिसलाई मात्र क्वारेन्टिनमा बस्न बाध्य पारिन्छ भन्ने खालको स्थानीयवासीबाट गुनासो आउने गरेको छ, तर म आफैँ क्वारेन्टिनमा बसेपछि अहिले जनतामा पनि सकारात्मक धारणाको विकास भएको छ,

सबै उच्च तहका मानिसले सरकारको नियमलाई पालना गर्दै कोरोनाको विषयमा सजग रहने खालका सन्देश प्रवाह गर्नसके स्थानीयवासीमा भएको कोरोना त्रास कम हुने थियो, यसले एक प्रकारको औषधि कै काम गर्न सक्छ, स्थानीयवासीलाई अहिले कोरोनासँग लड्न हौसलाको पनि खाँचो छ”, सांसद किराँतीले भन्नुभयो ।

विभिन्न ठाउँँबाट जिल्ला प्रवेश गर्नेको संखया वृद्धि भइरहँदा पँहुच र शक्तिको आडमा क्वारेन्टिनमा नबस्ने धेरै छन् तर सांसद नै सरकारले जारी गरेको प्रावधानलाई पालना गर्दै क्वारेन्टिनमा बसेपछि स्थानीयवासी खुसी भएका छन् । यसले अन्य मानिसमा समेत सकारात्मक सन्देश जाने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्