
फिदिम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिनेगरी कानूनी प्रवन्ध गर्ने निर्णय गरेको हो ।
विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने सांसदहरुको माग अस्वीकृत भएको छ । बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विदेशी पुरुषलाई थप समय राखेर नागरिकता दिनुपर्ने धारणा राखेपनि सहमति भएन ।
विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि वैवाहिक नागरिकता पाउने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।
विवाह गरेर आएपछि सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार प्राप्त गर्न सक्नेगरी आवासीय परिचयपत्र प्रदान गरिने पनि निर्णय भएको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु भने सहमत छैनन् ।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अगीकृतबारे सहमति जुट्न नसक्दा दुई वर्षदेखि अड्किएको छ ।