एकैदिन भेटिए ५८६ जना कोरोना सङ्क्रमित



फिदिम । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५८६ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ ।

कुल संक्रमितमध्ये पुरुष ६ हजार ६३८ र महिला ५३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५४६ जना पुरुष र ४० जना महिला रहेका छन् ।

गौतमका अनुसार पछिल्लो पटक नेपालगन्जमा एकजनाको ज्यान गएको छ। यससँगै मृतकको संख्या पनि २० पुगेको छ । बुधबारसम्म कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ७३ रहेको छ ।

बुधबार सबैभन्दा धेरै १८३ जना कोरोना संक्रमित महोत्तरीमा भेटिएका छन् । प्रदेश नम्बर दुई अहिले देशकै हट स्पट बन्दै गएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमण निको हुनेको संख्या ९ रहेको छ । हालसम्म निको भएर फर्किनेको संख्या ११ सय ६७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्