भारत–चीन सीमामा हुँदा तीन भारतीय सैनिकको मृत्यु



फिदिम । भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको छ । भारत सरकारका एकजना अधिकारीका अनुसार गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको हो ।

भारतीय सेनाका अनुसार भारत–चीन सीमास्थित गलवान घाटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो । दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो । भारतीय सेना मु्ख्यालयले यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नु परेको दाबी गरेको छ ।

तर अहिलेसम्म चीनका कतिजना सैनिक मारिए या घाइते भए भन्ने केही पनि खुल्न सकेको छैन । यसबारेमा चिनियाँ अधिकारीले पनि कुनै जानकारी दिएका छैनन् ।

भारतीय सेना मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारी अहिले मामिला सुल्झाउन घटनास्थलमा बैठक गरिरहेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङले यस घटनाबारे प्रतिक्रिया दिँदै भारतीय सैनिकले सीमामा चिनियाँ सैनिकमाथि पहिले हमला गरेको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चिनिया विदेश मन्त्रालयले यस घटनाप्रति प्रतिक्रिया दिँदै भारतले एकतर्फी कुनै पनि कदम चाल्नु गलत हुने जनाएको छ । यसले स्थिति बिग्रन सक्ने चीनले चेतावनी दिएको छ ।

यस घटनापछि भारतका रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत, तीनै सेना प्रमुख र विदेश मन्त्री एस जयशंकरसँग एक उच्चस्तरीय बैठक गरेका छन् । पछिल्ला केही दिनयता यस इलाकामा चिनिया सैनिक भारतीय सीमामा प्रवेश गरेकाले दुवै देशबीच तनाव बढेको जिकिर भारतले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्