

लेखनाथ खतिवडा शिकारु
बालबालिकाको लागि घर सबैभन्दा पहिलो र असल पाठशाला हो भने आमा वावु पहिलो गुरु हुन् । त्यसैले बालबालिकाको व्यक्तिगत विकासमाघर परिवारले राम्रो वातावरण, संस्कार,सभ्यता, वोलिचाली, आचरण सहित अनुशासन सिकाउनु पर्छ । बालबालिकालाई कोरा किताबी ज्ञान मात्र नभएर उनीहरुलाई जीवनमा सफल हुने खालका सिर्जनशिलता, जीवन उपयोगी, परिश्रमी, प्रतिस्पर्धी र योग्य नागरिक वनाउनु पर्छ, ताकि ऊ परिवार समाज राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा टिक्न र बिक्न सकोस् । बालबालिकाले स्वस्फूर्त रुपमा अन्तरहृदयबाट नै प्रेरित भई अनुशासन, लगनशिलता, कर्तव्य, निष्ठताका कुराहरु नसिकेसम्म अरुले बल गरेर पनि हुन्न । एक जिम्मेवार अभिभावकले राम्रो र नराम्रो छुट्याई त्यसलाई वातावरण सृजना मात्र गरिदिनु पर्छ ।
संस्कार त्यस्तो चिज हो जस्ले जीवनलाई संयमित र अनुशासित वनाउँछ । कठिन परिस्थितिको सामना गर्न, पथभ्रष्ट हुनबाट बचाउँछ । कुनै घर परिवारमा संस्कार छैन भने अनुशासन हिनता बढ्छ । त्यसको पहिलो पाठशाला स्वयम् घर परिवार र गुरु भनेका आमा वावु र अभिभावक हुन् । बालवालिकालाई उठबस, खानपिन, पढ्ने खेल्ने कुरामा समय हुनुपर्छ । त्यसका लागि अभिभावकहरु उदाहरण वनेर उभिनु पर्छ र आवश्यकताअनुसार नरम र गरम पनि हुनु पर्छ । बालवालिकाहरुको स्वभाव स्वभावैले जिज्ञासु र चञ्चले हुन्छ । उनीहरु अभिभावकहरु भन्दा पनि साथी संगतवाट धेरै कुराहरु सिकिरहेका र भर परिरहेका हुन्छन् ।
अहिलेका वालवालिकाहरुलाई असल संस्कार सिकाउनु भनेको आउँदो पुस्ताको असल चरित्र निर्माण गर्नु पनि हो । अहिले कोरना भाइरसको प्रभावसँगै भएको लकडाउनका कारण अधिकांश बालबालिकाहरु अभिभावकहरुसँगै छन् । यसलाई एउटा अवसरको रुपमा पनि लिनुपर्छ । वाध्यात्मक परिस्थितका बावजुत पनि हरेक अभिभावकहरुले आफ्ना सन्ततिहरु अरुको तुलनामा अब्बल भएको हेर्न र प्रशंसा गर्न चाहन्छन् । तर सोचे जस्तो खोजेजस्तो, भनेजस्तो नभएमा निरुत्साहित पनि बन्ने गरेका छन् अभिभावकहरु ।
कतिपय बालबालिकाहरुलाई भनेजस्तो सेवा सुविधा र समय दिन नसकेर यस्तो हुन सक्छ भने कतिलाई धेरै भएर पुलपुलिन पनि सक्छन् । यस्ता विषयमा ख्याल गर्नु पर्छ । बालबालिकाहरुलाई सकेसम्म आफ्नो काम आफै गर्ने वानि वसाल्नु पर्छ । विहान सवेरै उठ्ने, नित्य कर्म गर्ने, सरसफाई, केही शारीरिक अवस्था अनुसारको योग, ध्यान ब्यायाम, प्राणायम, सात्विक आहार–विहार, पानीको उचित सेवन, आफूभन्दा ठूलालाई सम्मान सानालाई माया सहयोगी भावना, विरामी ज्येष्ठ नागरिकहरुको हेरचाह र स्याहार जस्ता कुराहरुमा ख्याल गर्न सिकाउनु पर्छ ।
‘तिमी सानै छौ’, ‘तिमी जान्दैनौं’, ‘वद्मास’, ‘भनेको नमान्ने’ जस्ता शब्दहरुको प्रयोग गरेर आफन्तहरुकै अगाडी अभिभावकहरुले आफ्ना बालवालिकाहरुलाई लज्जित पार्ने गरेका थुप्रै उदाहरण छन् । यो वास्तवमा गलत धारणा हो । यो व्यवहार उनिहरुलाई पटक्कंै चित्त वुझेको हुँदैन । उनीहरु प्रतिकार गर्न पनि सक्दैनन् । अभिभावकहरुका कारण बालबालिकाहरु आफूलाई अपमानित भएको महशुष गर्ने वातावरण सिर्जना गरिनु हुन्न । अभिभावकहरु हँसिलो, फुर्तिलो, गतिशील, उर्जाशील, मिलनसार भएमा बालबालिकाहरुले त्यही कुराको अनुशरण गरिरहेको हुन्छन् । आफ्ना उर्जाशील समय अरुको हानी नोक्सानीमा विताउने अभिभावकहरुका छोराछोरीहरु पनि त्यही कुरा सिकिरहेका हुन्छन् ।
यस्तै अभिभावकहरुले आफ्ना सवै खाले समस्या तथा तनावहरुलाई बालबालिका सामु ब्यक्त गर्नु हुन्न । यसले उनीहरुको बाल मनोविज्ञानमा असर परिरहेको हुन्छ । उनीहरुलाई ‘सानो छस्’, ‘जान्दैनस्’ भन्नुको सट्टा मित्रवत ब्यवहार गर्नुपर्छ । डर, त्रास, लोभ, लालच भन्दा साहश, उर्जा, आँट, जाँगर सिर्जना हुने खालका काममा अभिप्रेरित गर्ने, खानपीन र आहार–विहारमा ख्याल गर्ने, खासगरी बजारका जङ्क फुडको ठाउँमा गुणस्तरीय र पौष्टिक अनि सन्तुलित खाना खाने बानी बसाल्नु पर्छ । यो अभ्यास स्वयम् अभिभावकहरुले पनि गर्नु जरुरी हुन्छ ।
बालबालिकालाई सफल बनाउने नाममा कतिपय अवस्थामा हामीले दिने दबावले बालबालिकामा सिर्जनात्मकता भन्दा पनि तनाव मात्र थोपर्दछ । जसले उनीहरुको वर्तमान र भविश्य समेत नकारात्मक अवस्थाबाट गुज्रिन सक्छ । के ठिक के बेठिक भन्ने कुरा वालवालिका आफैंले थाहा पाउन जरुरी छ । यस विषयमा अभिभावकहरु अरुलाई परिवर्तन गर्न चाहिरहेकाहरु आफू चाँही कति वदलियौँ ? यो पनि ख्याल गरौ । चुइगम, चकलेटका खोल आदी फोहोरहरु बाटोमै जथाभाबी सार्वजनिक स्थलमा फाल्ने, घरको फोहोर बाटोमा लगेर फाल्ने, बाटो तथा सार्वजनिक स्थलमा थुक्ने जस्ता हाम्रा व्यवहार बालबालिकाहरुले नजिकबाट नियालिरहेका हुन्छन् ।
उनीहरुलाई वोलिचाली, संस्कार, सभ्यता, मूल्यमान्यता सहित राम्रा काममा प्रश्न गर्ने बानी पनि बसार्लौँ । असल संगत गर्न अभिप्रेरित गरौँ । उनीहरुले अपनाएको असल संस्कार वानी व्यवहारको प्रशंसा गरौँ । अनुशासन, सिकाई र व्यवहारको निरन्तर प्रकृया भएकाले कमीकमजोरी, गल्तीहरुबाट पनि थुप्रै कुराहरु सिक्न सक्छन् बालवालिकाहरुले ।
यस्तै आफ्ना अभिभावकहरुसँग स्वयम् बालबालिका दृढ र विश्वस्त हुनुपर्छ । त्यस्तो वातावरण पनि अभिभावक स्वयम्ले निर्माण गर्ने हो । उनीहरुलाई फलामे अनुशासनको रुपमा सिकाउन खोजिएका कुराहरु हामी अभिभावकहरु चाँही कति कार्यान्वयन गरिरहेका छौँ ? आफू विभिन्न अम्मलमा संलग्न भएर बालबालिकालाई ‘त्यसो गर्नु हुँदैन’ भन्नुभन्दा आफैँ परिवर्तन भएर उनीहरुको व्यवहार परिवर्तन गर्नु जरुरी छ ।
वयस्क अवस्था बाल्यकालको प्रतिबिम्वन हो । कुनै बयस्क व्यक्तिको वर्तमान बाल्यकाल कसरी गुज्रिएको छ त्यसैमा निर्भर रहन्छ । त्यसैले बालबालिकाप्रति संवेदनशील बनौं । ‘बिहानले दिनको संकेत गर्छ’ भने झैँ व्यक्तिको जीवनकालमा पनि यहि नियम लागू हुन्छ । अनुशासन प्रगति र उज्ज्वल भविश्यको मार्ग प्रसस्त गर्ने माद्यम हो । धन्यवाद ।
(मानवअधिकार तथा सञ्चार क्षेत्रमा कार्यरत खतिवडा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरका संयोजक हुनुहुन्छ ।)