पाँचथरमा कुवेतबाट आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, २ असार

पाँचथरमा फिदिम स्थित क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कुबेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीय महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो ।

पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन् । उनको हिजो स्वाब सङ्कलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले वताउनुभयो ।

कुबेतबाट उद्धार गरी ल्याइएका उनलाई भक्तपुर स्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकहरुबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टाइनमा राखिएका अन्य तीन जनामा भने कोरोना सङ्क्रमण नदेखिएको सुवेदीले वताउनुभयो ।

पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको सुवेदीले वताउनुभयो ।

सङ्क्रमण पुष्टि भएका ती महिलालाई कोशी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिनुभयो । पाँचथरमा जिल्ला भित्रै पहिलो पटक कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्