प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड



फिमिद । प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षका लागि रु. ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको वार्षिक आय ब्ययको विवरणअनुसार चालुतर्फ रु. १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यस्तै पुँजीगततर्फ रु. २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत बजेट विनियोजन गरिएको छ । यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु. ४ करोड र अन्तरसरकारी वित्त हस्तान्तरण तर्फ रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको आय ब्ययको विवरणअनुसार आन्तरिक श्रोतबाट रु. ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाँटबाट रु. १० अर्ब ३ करोड ५४ लाख र अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाखले ब्यहोर्ने मन्त्री आङ्बोले वताउनुभयो । यसैगरी चालु आर्थिक वर्षकै मौज्दात रु. ६ अर्ब र नेपाल सरकारसँग ५ अर्ब ऋण लिने मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

प्रदेश नं. १ सरकारको यो चौथो बजेट हो । नीति, कार्यक्रम तथा बजेटको अनुमान प्रस्तुत गर्दै मन्त्री आङ्बोले संघीय शासन प्रणालीअन्तर्गत सहकारिता, समन्वय, सह–अस्तित्वको मूल मर्मलाई आत्मसाथ गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्यमा प्रदेशको सहभागिता र योगदानको सुनिश्चितताका लागि प्रदेश सरकार ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नाराका साथ अगाडि बढेको वताउनुभयो ।

उहाँले प्रदेश सरकार गठन भएपछि जनशक्ति तथा भौतिक ब्यवस्थापन, कानून तथा संस्थागत संरचना निर्माण, स्रोतहरुको परिचालन, दीर्घकालीन विकासको स्पष्ट खाका निर्माण, संघीय र स्थानीय सरकारसँग प्रभावकारी समन्वय र साझेदारी गर्दै स्रोत, साधनको अधिकतम सदुपयोग गर्दै अघि बढ्न प्रदेश सरकार सफल भएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्