दुलाल हत्या प्रकरणः श्रीमतीसहित तीन जना जेल चलान



फिदिम । विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आरोपमा उनकै श्रीमतीसहित तीन जनालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजलाशले हत्या आरोपमा पक्राउ परेकी दुलालकी श्रीमती मीना श्रेष्ठ, सिराहा लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षीय ब्रहमदेव शाह र इटहरी १२ का २० वर्षीय सोनु शाहलाई थुनामा राख्न आइतबार आदेश गरेको हो ।

अदालतको ७ नम्बर इजालशमा भएको थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रेग्मीले बहस गर्नुभएको थियो । थुनछेकमा वादी र प्रतिवादीका कानून व्यवसायीहरुले बहस गरेपछि आदेश आएको हो ।

अदालतको आदेशपछि तीन जना पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिनुभयो । इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको गत जेठ ३ गते श्रीमती मीनाको योजना अनुसार प्रेमी ब्रमहदेवसहित तीन जना मिलेर हत्या गरेका थिए ।

दुलालको हत्या गरेपछि ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमती मीनाले विराटनगरस्थित गोल्डेन अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरीरमा चोट देखिएको र श्रीमती मीनाको भनाई बाझिएपछि अनुसन्धान गर्दा उनकै योजनामा हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । ब्रहमदेवसँग मिनाको अनैतिक सम्वन्ध श्रीमान देवीप्रसादले थाहा पाएपछि मानसिक यातना दिएको भन्दै हत्या गरेका थिए ।

मोरङ प्रहरीले उनीहरूलाई ४ जेठमा पक्राउ गरेको थियो । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान पुरा गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रबार अदालतमा अभियोग दर्ता भएको थियो । कर्तब्य ज्यान मुद्दाका तीन जना प्रतिवादीहरूलाई जन्मकैदको मागदाबी सहित अदालतमा अभियोग पत्र दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रेग्मीले जानकारी दिनुभयो ।

पाँचथर पुख्र्यौली घर भएका दुलालको परिवारले लामो समयसम्म फिदिममा ब्यवसाय सञ्चालन गरेको थियो । फिदिममा रहँदै दुलालले प्रेम विवाह गरेका थिए । पछि दुलालको परिवार बसाँई सरेर सुनसरी गएको थियो । (हाम्रोमत डटकमबाट)

प्रतिक्रिया दिनुहोस्