थप ४२५ मा कोरोना, संक्रमितको संख्या ५७६० पुग्यो



फिदिम । आइतवार नेपालमा थप ४ सय २५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित ७३ जिल्लामा भेटिएको छ ।

नयाँ संक्रमितमध्ये ५० जना महिला र ३७५ जना पुरुष रहेका छन् । पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा आइतवारसम्म संक्रमितको संख्या पनि बढेर ५ हजार ७६० पुगेको छ । जम्मा संक्रमितमध्ये महिला ४३६ जना छन् भने पुरुष ५ हजार ३२४ जना रहेका छन् ।

प्रवक्ता डा.गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै भेरी अस्पताल बाँकेमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौंडामा भएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण देखिएको छ । संक्रमण ७३ जिल्लामा संक्रमण फैलिएको छ । आइतबार ६१ सहित जम्मा ९ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म ९७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएको मन्त्रालयले जनाएको छ । निको हुनेमा महिला ९७ जना र पुरुष ८७७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ । पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिका स्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्