

फिदिम, ३१ जेठ
पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दू पाँचथरको चिवाभञ्ज्याङमा पुष्पलाल पार्क निर्माण हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नामबाट पहाडै–पहाड पाँचथरदेखि बैतडी जोड्ने यस लोकमार्गको नाम पुष्पलाल (मध्यपहाडी) लोकमार्ग कायम भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको लोकमार्गमा लोकमार्गको नामाकरण गरिएका ब्यक्तिको पहिचान खुल्ने कुनै पनि संरचना छैनन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लोकमार्गको उद्गम विन्दूमा लोकमार्गको नामाकरण गरिएका पुष्पलालको शालिक सहितको पार्क निर्माण गर्ने योजना अघि बढाएको हो ।
मन्त्रालयले आगामी आर्थिक वर्षमा चिवाभञ्ज्याङमा पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न तथा जमिनको ब्यवस्थापन गर्न बजेट छुट्टयाएको छ । लोकमार्गको उद्गम विन्दू पाँचथरको याङवरक गाउँपालिकामा पर्दछ ।
याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले गाउँपालिकाको पहलमा लोकमार्गको उद्गम विन्दूमा पार्क निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भएको जानकारी दिनुभयो ।
“आगामी आर्थिक वर्षमा पार्कको डीपीआर तयार पार्न र जमिनको ब्यवस्थापन गर्न बजेट प्राप्त भएको छ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “हामीले गाउँपालिकाको तर्फबाट समेत उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाउछौँ ।”
भारतको सिक्किमसँग जोडिएको चिवाभञ्ज्याङ नाकामा यस लोकमार्गको उद्गम विन्दू रहेको छ । यो स्थान पाँचथरको सदरमुकाम फिदिमबाट ९५ किलोमिटर दूरीमा रहेको छ । मनमोहक पहाड र घना जङ्गलको वीचमा रहेको चिवाभञ्ज्याङ सुन्दर पर्यटकीय क्षेत्र पनि हो ।
हिउँदमा यहाँ सेताम्य हिँउले डाँडाकाँडा र निर्माणाधीन सडकलाई समेत पुर्दछ । सडक विस्तार भएपछि आन्तरिक पर्यटकहरुको आवागमन समेत बढेको याङवरक गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलको भनाई छ । चिवाभञ्ज्याङसम्म आगामी आर्थिक वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने लोकमार्ग आयोजना कार्यालयको तयारी छ ।
यहाँसम्म कालोपत्रे सडक निर्माण भई पार्क समेत निर्माण गर्नसके पर्यटकीय आवागमनमा वृद्धि हुने, सीमा क्षेत्रमा नेपाल तर्फबाट मानवीय चहल–पहल वृद्धि भई भारतीय पक्षबाट हुने चोरी शिकारी कम हुने र भारतीय पक्षबाट नेपाली भूमिको प्रयोग रोकिने अपेक्षा गरिएको याङवरक गाउँपालिकाका अध्यक्ष घिमिरले वताउनुभयो ।
सुरक्षाविहीन जस्तै रहेको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा अनुगमन चौकी (बीओपी) निर्माणका लागि समेत पहल भइरहेको उहाँको भनाई छ । चिवाभञ्ज्याङ पर्यटकीय क्षेत्रहरु तिम्बुपोखरी र फालोट क्षेत्रको मध्यभागमा अवस्थित छ । बहुमूल्य जडिबुटी तथा वन्यजन्तुहरुको खानी मानिएको चिवाभञ्ज्याङ क्षेत्रमा नेपाल तर्फबाट भरपर्दो सुरक्षा ब्यवस्था छैन् ।
सीमा क्षेत्रभन्दा २६ किलोमिटर टाढा च्याङथापूमा रहेको सीमा प्रहरी चौकीलाई सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी दिइएको छ । प¥याप्त सवारीसाधन र जनशक्ति नहुँदा सीमा क्षेत्रको सुरक्षा प्रभावकारी हुन नसकेको सीमा प्रहरी चौकी च्याङथापूका प्रमुख प्रहरी नायब निरीक्षक बज्रबहादुर राईले वताउनुभयो । उहाँले लोकमार्गको उद्गम विन्दू चिवाभञ्ज्याङमा पार्क लगायत संरचना निर्माण गर्न सके सीमा क्षेत्रको सुरक्षामा ठूलो मद्दत पुग्ने वताउनुभयो ।