थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३५ पुग्यो



फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का २७३ जना संक्रमित थपिएका छन् । जसमध्ये ३६ जना महिला छन् ।

प्रदेश नं. १ मा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक महिला र तीन जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पताल विराटनगरमा मोरङका चार जना, झापाका एक जनामा संक्रमण देखिएको छ ।

नयाँ संक्रमितको संख्यासँगै संक्रमितको कूल संख्या ५३३५ जना पुगेको छ । जसमा ३८६ जना महिला छन् । हालसम्म ७२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाका अनुसार असार १५ सम्ममा दैनिक १० हजारको परीक्षण गर्ने सरकारले तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुने एक जनाको पहिचान खुलेको छैन् । उनको शव बेवारिसे अवस्थामा भेटिएको थियो ।

पर्साको वीरगञ्जमा बेवारिसे अवस्थामा २८ गते शव फेला परेको थियो । उक्त शवको पोष्टमार्टम नारायणी अस्पतालमा गरिएको थियो । त्यहाँ उनको स्वाब लिई जाचँ गर्दा हिँजो कोरोना पुष्टि भएको छ ।

यस्तै बाराको निजगढका पाँच वर्षीय बालक ज्वरोमा समस्या आई हिँजो वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरी आरडीटी परीक्षण गरिएको थियो । उनको स्वाब समेत पोजेटिभ आएको थियो ।

तर स्वाबको रिपोर्ट नआई बालकको हिँजै निधन भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको प्रवक्ता डा. गौतमले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्