उपचारका क्रममा मृत्यु भएका बालक तथा बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि



फिदिम । उपचारका क्रममा मृत्यु भएका एक जना बालक तथा एउटा बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । यद्यपी यी मृत्यु कोरोनाबाटै भएकोबारे सरकारले आधिकारिक रुपमा जानकारी दिइसकेको छैन् ।

उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

बाराको निजगढ नगरपालिका–६ निवासी बालकलाई शुक्रबार बिहान हस्पिटलमा ल्याइएको थियो । निमोनिया र ज्वरो देखिएपछि उनको आरडिटी गर्दा आरडीटी पोजिटिभ आएपछि आइसोलेसन वार्डमा सारेर उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

शुक्रबार अपरान्ह स्वास्थ्य अवस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखिएकोमा मृत्यु भएको थियो । बालकलाई निजगढको सामुदायिक अस्पतालले वीरगन्ज रेफर गरेको खुलेको छ । मृतक बालकमा कोरोना पुष्टि भएपछि उनको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली खटिएको छ ।

पर्सामा वेवारिसे अवस्थामा फेला परेको शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।

मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको रायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्