अनुमतिविना सडक निर्माणमा याङवरक गाउँपालिकाले लगायो रोक



फाइल तस्वीर ।

फिदिम, ३१ जेठ
पाँचथरको याङवरक गाउँपालिकाले गोलिया लगायत वनजन्य सामग्री निकासीका लागि अनुमतिविना सडक निर्माण गर्ने कार्यमा रोक लगाएको छ ।

ग्रामीण क्षेत्रबाट वनजन्य सामग्री निकासीका लागि ब्यवसायी र स्थानीयवासीले सरकारी निकायको अनुमतिविना सडक निर्माण गर्ने गरेका थिए । याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूमा गोलिया निकासीका लागि सडक निर्माण गर्ने क्रममा विवाद आएपछि उक्त विषय गाउँपालिकासम्म पुगेको थियो । यसपछि गाउँपालिकाले गाउँपालिकाको अनुमति तथा प्राविधिकहरुको परामर्शविना जथाभाबी सडक निर्माणमा रोक लगाएको हो ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले ठूलो परिमाणमा वनजन्य सामग्री निकासी हुने गरेको आफ्नो गाउँपालिकामा अनुमतिविना सडक निर्माण गर्ने कार्यमा रोक लगाइएको वताउनुभयो ।

“वन, वातावरण तथा भू–संरक्षण स्थानीय तहसमेतको क्षेत्राधिकारको विषय रहेकाले स्थानीय तहको अनुमतिविना सडक निर्माणका रोक लगाएका हौँ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “गाउँपालिकाको अनुमति तथा प्राविधिकहरुको रायविना सडक निर्माण गरे कानूनी कारबाही गर्ने नीति तय गरेका छौँ ।”

गोलिया लगायत वनजन्य सामग्री निकासीका लागि निजी वनका धनी र ब्यवसायीहरुले आफ्नो स्वेच्छाले सडक विस्तार गर्ने गरेका थिए । यसरी हुने सडक विस्तारले प्रतिकूल वातावरणीय प्रभाव पार्नुका साथै पहिरो र भू–क्षयको जोखिम बढेकाले सडक निर्माणलाई ब्यवस्थित बनाउन लागिएको गाउँपालिका अध्यक्ष घिमिरेले वताउनुभयो ।

डिभिजन वन कार्यालय पाँचथरका सूचना अधिकारी राजकुमार खत्री वनजन्य सामग्री निकासीका लागि हुने सडक निर्माणले सडक विस्तारमा सहयोग गरेपनि वातावरणीय प्रभावबारे ख्याल नगरिएको वताउनुहुन्छ ।

“ब्यवसायीहरुले आफ्नै लगानीमा सडक निर्माण गर्नाले कतिपय ठाउँमा फाइदा त पुगेका छन् । तर प्राविधिक मूल्याङ्कन विनाका कामले धेरै क्षति पु¥याउने गरेको छ”, खत्रीले भन्नुभयो । जिल्ला स्तरमा वातावरण संरक्षणको अनुगमन गर्ने निकाय नहुँदा प्रतिकुल असर पर्ने गरी काम हुनसक्ने खत्रीको आशंका छन् । स्थानीय तहहरुले वन, वातावरण तथा पर्यावरण जोगाउन लिएको पहल सकारात्मक रहेको उहाँको भनाई छ ।

यद्यपी याङवरकले थालेको प्रयास अन्य स्थानीय तहमा भने सुरु भएको छैन् । अन्य स्थानीय तहभन्दा बढी वनजन्य सामग्री रहेका कारण समेत आफूहरुले वन, वातावरण र पर्यावरणका सन्दर्भमा बढी चासो दिएको याङवरक गाउँपालिकाका अध्यक्ष घिमिरेको भनाई छ ।

“हामीकहाँ वर्षौँसम्म वनजन्य सामग्री निकासी हुनसक्ने निजी वनहरु छन् । हामीले वन, वातावरण र पर्यावरणलाई ख्याल गर्दै गाउँपालिकाको आन्तरिक आम्दानी समेत वृद्धि गर्ने उद्देश्यसहित सन्तुलित नीति तय गर्दै आएका छौँ”, अध्यक्ष घिमिरेले भन्नुभयो ।

जिल्लामा वर्षायामको समयमा गोलिया लगायत वनजन्य सामग्री निकासीमा रोक लगाइने गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी खत्रीका अनुसार कच्ची सडकमा ठूलो परिमाणमा वनजन्य सामग्री बोक्ने ट्रयाक्टर लगायत सवारीले क्षति पु¥याउने भएकाले स्थानीय तहहरुले वर्षायाममा वनजन्य सामग्री निकासीमा रोक लगाउने गरेका छन् ।

प्रत्येक वर्ष असार, साउन र भदौ महिनामा वनजन्य सामग्री कच्ची सडकबाट निकासीमा रोक लाग्ने गरेको छ । यसरी रोक लाग्ने क्रम विगतका वर्षहरुबाटै चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्