

फिदिम । भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले स्थानीय तहको बजेट तथा कार्यक्रम वर्तमान संकट समाधानमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।
शुक्रबार दिउँसो गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको हो ।
गाउँपालिकाहरुले आगामी योजना तथा बजेट तयार गर्दा कस्तो–कस्तो कार्यक्रमलाई समेट्ने भन्ने विषयमा चरणबद्ध रुपमा भर्चुअल कन्फेरेन्स गरिरहेको छ । यसै क्रममा शुक्रबार मोरङ, झापा र सुनसरीका गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी रहेको कन्फेरेन्सलाई मन्त्री नेम्बाङले कोरोना भाइरस नियन्त्रणमा स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो “भारत तथा तेस्रो मुलुकबाट महामारीका कारण नेपाल आएका नागरिकलाई क्वारेन्टिनमा राख्ने लगायत अन्य व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ ।”
कोरोना रोकथाम तथा नियन्त्रका लागि संघीय सरकारको तर्फबाट प्रदेश नं. १ सँग समन्वय गर्ने समेत जिम्मेवारीमा रहनुभएका नेम्बाङले सिंगो मुलुक अहिले महामारी नियन्त्रणमा परिचालित रहेको बताउनु भयो ।
उहाँले तेस्रो मुलुकबाट आएका नागरिकलाई राजधानीमा व्यवस्थापन गरिएका होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पुर्याई प्रदेश पठाउने क्रममा प्रदेश नं. १ का स्थानीय तहहरुले खेलेको समन्वयात्मक भूमिकाको प्रशंसा समेत गर्नु भयो ।
कन्फेरेन्समा पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका निवर्तमान प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले कोरोना केन्द्रित बजेट सम्बन्धि प्रस्तुति राख्नु भएको थियो ।
गाउँपालिका राष्ट्रिय मसासंघ प्रदेश नं. १ का अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको भर्चुअल बैठकमा महासंघका कार्यकारी निर्देशक विमल पोखरेल मध्यस्थकर्ता रहनु भएको थियो ।