‘लकडाउन खुकुलियो, तर झनै सावधानी अपनाउनुहोस्’



फिदिम । नेपाल सरकारले चैतको दोस्रो साता सुरु भएको लकडाउनलाई खुकुलो बनाउने क्रममा दुई सिफ्टमा कार्यलयहरू सञ्चालन गर्ने, उद्योग र व्यवसाय सहित जिविकोपार्जनसँग जोडिएका क्षेत्र र सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

बुधवारको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन अन्तर्गत बन्दाबन्दी कायम राख्ने र नराख्ने क्षेत्रहरू उल्लेख गरिएको नयाँ आदेश राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनले खुला गरिएका क्षेत्रमा स्वास्थ्य सावधानी अपनाउनुपर्ने भन्दै सरकारले परिस्थिति हेरेर नयाँ व्यवस्थामा पनि फेरबदल गर्नसक्ने बताएका छन् । लकडाउनका कारण जनजीवन र उद्योग व्यवसाय दुवैमा नकारात्मक असर परिरहेको भन्दै निजी क्षेत्रले सरकारलाई बन्दाबन्दीको अहिलेको व्यवस्था अन्त्य गर्न माग गर्दै आएका थिए । सरकारले खुल्ने सेवा र कार्यहरूमा संलग्न हुँदा दुई मिटरको दुरी कायम गर्न र ‘स्यानीटाइजर’ को प्रयोग जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न भनेको छ ।

खुल्ने क्षेत्रः

स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि पशुपंक्षी व्यवसाय, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर । सबै प्रकारका ढुवानी, पैदल आवागन, साइकल र मोटरसाइकल (चालक मात्रै रहने) ।

काठमाण्डूको हकमा उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लामा मात्रै चल्ने गरी जोर विजोर प्रणालीमा निजी सवारी साधन जसमा चालक बाहेक थप दुई जनामात्रै चढ्न पाउने । फोहोर मैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण र हुलाक ।

ब्याङ्क, वित्तिय संस्था, बीमा र सहकारी सेवा, नर्सरी र बनजन्य उद्यम, बिकास आयोजना, निर्माण कार्य, नदी तथा खानीजन्य सामग्रीको उत्खनन्, सङ्कलन, ढुवानी तथा विक्रि वितरण । रेस्टुराँबाट हुने प्याकिङ् खाना विक्रि वितरण ।

क्वारन्टीनका लागि तोकिएका होटल र यातायत साधन, सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र ब्याङ्क तथा वित्तिय संस्थाहरू । यी कार्यालयहरू दैनिक दुई सिफ्ट – बिहान आठदेखि दिउँसो एक बजेसम्म र दिउँसो एक बजेदेखि साँझ छ बजेसम्म सञ्चालन हुने ।

कार्यालयका कर्मचारी बोक्ने सवारी साधनले एकलहरमा मात्र यात्रु राख्न पाउने र सबै यात्रुले मास्कको अनिवार्य प्रयोग गर्ने अनि सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्ने ।

नखुल्ने क्षेत्रः

– सबै किसिमका शिक्षण संस्थाहरू ।

– अनुमतिप्राप्त बाहेक अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू, तोकिएको बाहेक सीमा नाकाबाट हुने आवत जावत ।

– सबै प्रकारका सभा, गोष्ठि तालिम सेमिनार, सबै प्रकारका भेला, गोष्ठि र प्रदर्शन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार जस्ता मनोरञ्जनस्थल ।

– सार्वजनिक पुस्तकालय, चिडियाखाना लगायत हेल्थ क्लब, सपिङ मल, स्पा, सैलुन तथा ब्युटि पार्लर ।

– समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुती ।

– सबै प्रकारका धार्मिक र समाजिक स्थल ।

– यात्रुवाहक सार्वजनिक सवारी साधन र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी बाहेक अन्य निजी सवारी साधन ।

मन्त्रिपरिषद्को निर्णय

सञ्चारमन्त्री खतिवडाका अनुसार सामाजिक दुरी कायम गर्ने सहित सुरक्षाका सबै मापदण्ड अपनाएर विभिन्न सेवाहरू खोल्ने निर्णय भएको हो । मुख्यगरी जिविकोपार्जन र उद्यम अनि विकास निर्माण सहितका क्षेत्रहरू र सरकारी तथा निजी कार्यलयहरू छन् ।

मन्त्री खतिवडाले कार्यस्थलमा भिडभाड नहोस भनेर दुई सिफ्टको व्यवस्था गरिएको जानकारी दिए । उनले विभिन्न मन्त्रालयहरूले आफ्नो क्षेत्राधिकार आकर्षित हुने क्षेत्रहरूमा ’प्रोटोकल’ बनाएर नयाँ व्यवस्थालाई सहजीकरण गर्ने जानकारी दिए ।

कार्यान्वयनको चुनौति

मन्त्रिपरिषद्ले बुधवार राति लकडाउन खुकुलो बनाउने निर्णय गरेको खबर प्रकाशमा आएपछि बिहिवार राजधानीका सडक र बजारमा पहिला भन्दा बढ्ता चहलपहल देखिएको छ ।

इपिडिमिओलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमख डाक्टर बाबुराम मरासीनीले चरणवद्ध रूपमा लकडाउन खुकुलो पार्ने निर्णय गर्दा पनि चाहिने जति सावधानी अपनाएको आफूले नपाएको बताए ।

उनी भन्छन्, “व्यापार गर्ने मानिसहरूले कसरी गर्नुपर्छ त्यो राज्यले बताइदिनुपर्छ । तपाईँले मास्क र पञ्जा लगाउनुपर्छ, कम्तिमा एक मिटरको दुरी कायम गर्नुपर्छ भनेर त्यो सुनिश्चित गरिएन भने सङ्क्रमण झन बढ्छ । भिडभाड हुने सरकारी कार्यलय, अस्पताल, सार्वजनिक यातायातहरूलाई व्यवस्थित गर्न नसकिए थप जोखिम बढ्छ ।”

मरासीनीले पुरानो अवस्थामा जान नसक्ने भन्दै जवाफदेही हुनुपर्ने र व्यवहार नै परिवर्तन गर्नुपर्ने उल्लेख गरे । उनी भन्छन्, “आफू पनि सङ्क्रमण हुनबाट जोगिउ र अरूलाई पनि भाइरस नसार भनेको हो नी । तर खै त राम्रोसँग त्यो सन्देश दिएको ? त्यही भएर मान्छेको बुझाइ कस्तो हुन्छ र यसले कस्तो परिणाम दिन्छ थाहा छैन । मान्छेहरू तँछाडमछाड गरेर विभिन्न किसिमका सेवाहरू लिन थाले भने अझ जोखिम हुन्छ ।”

उनले बाटोमा हिँड्दा वा ट्याक्सी जस्ता सवारी साधनमा दुई जनाले यात्रा गर्दा मास्क लगाउनैपर्ने नियम कतारले ल्याएको चर्चा गर्दै नेपालले पनि बाध्यकारी व्यवस्थाहरू लागू गरेर कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

कोरोनाभाइरस सङ्क्रमणका घटनाहरू बढ्दै गएको देखिदाँ हालैका दिनमा राजधानी सहित देशका विभिन्न भागमा लकडाउन उल्लङ्घनका घटनाहरू भएका थिए । पछिल्ला दिनमा सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि राम्ररी कदमहरू चाल्न नसकेको भन्दै राजधानी सहित देशका विभिन्न भागमा प्रदर्शनहरू भइरहेका छन् । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्