

फिदिम । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ । यो घटनासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अर्घाखाँचीको मालारानी–४ डाँडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका ५७ वर्षका पुरुषको बुधवार मृत्यु भएको छ ।
उनमा श्वासप्रश्वासमा समस्या थियो । लुम्बिनी प्रादेशिक अस्पताल उपचार गराई घर फर्कने क्रममा उनको कोद्रेखोलामा बाटोमै मृत्यु भएको हो ।
उनको स्वाब संकलन गरी पठाइएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट उनको विहीवार पोजेटिभ रिपोर्ट आएको हो ।
उनी १२ दिन अघि महाराष्ट्रबाट आई क्वारेन्टाइनमा बसेका थिए । योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।