

फिदिम । बुधवार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । लकडाउनमा कतिपय क्षेत्रलाई खुलल गरिएको छ भने कतिपय बन्द छन् ।
सरकारले ब्यापार ब्यवसाय खुल्ला गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य सेवा समेत पूर्णत खुलेको छ ।
सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार अब सवै प्रकारका ढुवानी खुल्ला भएको छ । ब्यक्तिहरुको पैदल आवागमन खुल्ला भएको छ । आवश्यक सुरक्षा अपनाउन सरकारले आग्रह गरेको छ ।
साइकल र मोटरसाइकल चल्न दिने सरकारी निर्णय छ । तर मोटरसाइकलमा एक जना मात्रै चढ्न दिइने भएको छ ।
सम्बन्धित जिल्ला भित्र मात्र जोरविजोर प्रणालीमा निजी सवारी चालक सञ्चालन गर्न दिइने भएको छ । जसमा चालक बाहेक अन्य दुई जना मात्रै रहन पाउनेछन् ।
विद्युत, दमकल, वित्तीय क्षेत्र, सञ्चार क्षेत्र, वनजन्य उद्यम, कृषि, विकासका आयोजनाहरु, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाहरु, नदी तथा खानीजन्य पदार्थको उत्खनन् र ढुवानी समेत खुल्ला भएको छ ।
यस्तै तयारी खानेकुरा लैजान रेष्टुरेन्ट खुल्ला भएको छ । तर रेष्टुरेन्टमा बसेर खान भने नमिल्ने भएको छ । होटल खोलिएको छैन् ।
सरकारी तथा संघ संस्थाका कार्यालय दुई सिफ्टमा खोलिएको छ । विद्यालय समेत खोल्ने र शिक्षक कर्मचारी जानुपर्ने भएको छ । कार्यस्थलमा भौतिक दूरी कायम गर्न कठीन परेकाले दुई सिफ्टमा खोलिएको हो । जसले आधारभूत सेवा प्रवाह गर्ने सरकारको विश्वास रहेको प्रवक्ता डा. खतिवडाको भनाई छ ।
यस्तै सेवा प्रदायक क्षेत्रका श्रमिक आवागमनका लागि यातायात खुल्ला गरिएका छन् । गाडीको एक सीटमा एक जना मात्रै चढ्न दिइने भएको छ । यी सबै सेवा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका लागि मन्त्रालयहरुले प्रोटोकल जारी गर्नेछ ।
केही ब्यवस्था असार १ गतेदेखि २१ दिन लागू हुनेछ । तर यो सुविधा मन्त्रिपरिषदले हेरफेर गर्न सक्ने डा. खतिवडाले जानकारी दिनुभयो ।
एसईई परीक्षा विद्यालयले गरेको अन्तिम मूल्याङ्कन जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने तथा उक्त इकाईले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा र प्रमाणपत्र जारी गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी औषधि उपकरण द्रूत माध्यमबाट खरिद गर्ने तथा पीसीआर मेसिन द्रूत खरिद गरिने भएको छ । आइसोलेसन र क्वारेन्टाइनलाई थप ब्यवस्थित गरिने भएको छ । प्रदेश र स्थानीय तहलाई सक्षम बनाई प्रभावकारी समन्वय गरिने भएको छ ।
निम्न क्षेत्रहरु भने बन्द रहने सरकारको निर्णय छः
१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू)
२. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू ।
३. तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत(जावत
४. सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार ।
५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल
७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना ।
८. स्पा, सैलुन र ब्युटीपार्लर
१०. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू
११. सपिङ मलहरू
१२. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू
१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू
१४. यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।
१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोहीसँग सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधनबाहेकका अन्य निजी सवारी साधन ।