लकडाउनको मोडल परिवर्तन हुनसक्ने प्रधानमन्त्रीको संकेत



फिदिम । कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई जानकारी दिनुभएको छ ।

सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उहाँले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने वताउनुभयो । “निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

लामो समयदेखि लकडाउन हुँदा जनजीवन कष्टकर भएको भन्दै खासगरी निजी क्षेत्रले त्यसको सुरक्षित विधि परिवर्तन गर्न माग गरिरहेका थिए । संसद्मा जानकारी दिँदै प्रधानमन्त्री केपी ओलीले नेपालमा भेटिएका समग्र सङ्क्रमितमध्ये ८५५ भन्दा धेरै भारतबाट आएका व्यक्ति भएको वताउनुभयो ।

उहाँले वैशाखको पहिलो सातादेखि भारतबाट नेपालीहरू भित्रिन थालेको र वैशाखमा साढे सात हजार अनि जेठमा हालसम्म सवा दुई लाख मानिस भित्रिएको बताउनुभयो । उहाँले हाल नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाएका १५ जनामध्ये धेरैलाई अन्य स्वास्थ्य समस्या पनि रहेको वताउनुभयो ।

उहाँले हालसम्म नेपालीहरूको प्रतिरोधी क्षमता राम्रो देखिएको र मृत्युदर पनि अन्यत्रको तुलनामा कम देखिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले नक्सासम्बन्धी संसद्ले देखाएको एकताको प्रशंसा गर्नुभयो ।

भारतसँग चर्किएको सीमा विवादका बीच नेपालको नयाँ नक्साबारे देशभित्र राष्ट्रिय एकता देखिएको भन्दै प्रधानमन्त्री केपी ओलीले त्यसको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा भूमिको सवाल साझा सवाल रहेको वताउनुभयो । “यो कसैले जस लिने विषय होइन” उहाँले भन्नुभयो ।

संसद्ले सर्वसम्मत ढङ्गले नक्साबारे निर्णय गरेकाले यसको जस सबैको हुने उहाँले संकेत गर्नुभयो । संसद्ले लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक छलफलका लागि मङ्गलवार सर्वसम्मत स्वीकार गरेको थियो । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्