प्रदेश १ का संक्रमितहरु आयातित मात्रै



फिदिम । प्रदेश नं. १ सरकारले प्रदेश भित्रका अधिकांश कोरोना संक्रमितहरु अन्यत्र कोरोना संक्रमण भई प्रदेश भित्र आएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयमा बुधवार पत्रकार सम्मेलन आयोजना गरी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नं. १ मा आयातित सङ्क्रमणहरु देखा परेको वताउनुभयो ।

उहाँले प्रदेश सरकारका लागि उदयपुरको भुल्केमा ठूलो संख्यामा स्थानीयवासीमा देखा परेको संक्रमण सिकाईको थलो बनेको उल्लेख गर्नुभयो । भुल्केमा कोरोना सङ्क्रमित भेटिएपछि नै प्रदेश सरकारले ‘थ्री टी’ योजना अर्थात टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको काम सुरु गरेको उहाँले जानकारी दिनुभयो । हाल उदयपुरको भुल्के पूर्णरुपमा कोरोनामुक्त भएको मन्त्री घिमिरेको भनाई छ ।

पत्रकार सम्मेलनमा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरुको बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले प्रदेश नं. १ मा सबैभन्दा बढी युवा उमेर समूहमा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले बिशेष गरी २० देखि ३० बर्ष उमेर समूहका १ सय १६ जना युवाहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

सबैभन्दा कम ६० बर्ष माथिका १ जना र १० बर्षमुनिका २ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको डाक्टर मेहताको भनाइ छ । हाल प्रदेश नं. १ मा १८ जना महिलासहित २ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधवार मात्रै थपिएका १४ जना कोरोना सङ्क्रमितहरु मध्ये ८ जना मोरङका, ५ जना झापाका र १ जना उदयपुरका छन ।

हालसम्म प्रदेश नं. १ मा सङ्क्रमण पुष्टि भएकाहरुमध्ये १ सय २४ जना निको भइसकेका छन् भने १ सय ५९ जना आइसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्