गाउँपालिकाबाटै भीटीएन किट खरिद गरी स्वाब परीक्षणको ब्यवस्था गर्दैछौँ : अध्यक्ष घिमिरे



थर्पू, पाँचथर । कोरोना भाइरस (कोभिड—१९) को परीक्षण बढाई गाउँपालिका भित्र संक्रमण फैलन नदिन पाँचथरको याङवरक गाउँपालिकाले स्वाब परीक्षण गर्ने भीटीएन किट खरिद गरी परीक्षणको प्रवन्ध गरेको छ ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेका अनुसार गाउँपालिकाले हालै मात्र चार सय थान भीटीएन किट खरिद गरेको छ । भीटीएन किटबाट स्वाब संकलन हुन्छ ।

गाउँपालिका अध्यक्ष घिमिरेका अनुसार किट खरिदपछि पहिलो चरण्मा गाउँपालिकाले कोरोना भाइरसको संक्रमणविरुद्ध अग्रमोर्चामा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरु तथा भारतबाट नेपाल भित्रने गाउँपालिकावासीको स्वाब परीक्षण गर्ने प्रवन्ध मिलाइनेछ ।

याङवरकमा सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले ९० थान आरडिटी किट उपलब्ध गराउनुभएको थियो । उक्त आरडिटी किटबाट जिल्ला बाहिरबाट याङवरकमा आएका गाउँपालिकावासीलाई क्वारेन्टाइनमा राखी परीक्षण गरिएको थियो । उक्त संख्याले पनि नपुगेपछि स्वास्थ्य कार्यालयबाट थप २० थान किट मगाई परीक्षण गरिएको गाउँपालिका अध्यक्ष घिमिरेले वताउनुभयो ।

गाउँपालिकामा भित्रनेहरुलाई गाउँपालिकाले दुई किसिमले ब्यवस्था गरेको छ । भारतबाट आउनेलाई क्वारेन्टाइनमै राखी पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने गाउँपालिकाको तयारी छ भने देश भित्रैबाट आउनेहरुलाई आडिटी परीक्षण गरी घर पठाइनेछ ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न चालु आर्थिक वर्षमा आर्थिक वर्षमा २० लाख रुपैँया खर्च गरिरहेकामा आगामी आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ बजेटको प्रवन्ध गरेको गाउँपालिका अध्यक्ष घिमिरेले वताउनुभयो ।

युवाहरुलाई शीपअनुसारको रोजगारीको प्रवन्ध गर्छौँ

गाउँपालिका अध्यक्ष घिमिरेले कोरोना भाइरस संक्रमणको त्रास तथा लकडाउनका कारण विदेश तथा देशकै विभिन्न स्थानबाट गाउँपालिका भित्रिएका युवाहरुलाई शीपअनुसारको रोजगारी प्राप्त गर्ने ब्यवस्था मिलाउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट समेत निर्माण गरिरहेको छ । बजेट मार्फत युवा सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

“हामीकहाँ विदेशबाट ठूलो जनशक्ति स्वदेश आएको छ । हामीकहाँ जतिपनि युवा शक्ति आउनुभएको छ उहाँहरुलाई गाउँपालिका भित्रै परिचालन गर्न युवा सशक्तिकरणका कार्यक्रम ल्याउने तयारी गरेका छौँ” अध्यक्ष घिमिरेले भन्नुभयो ।

“उहाँहरुलाई हाम्रै गाउँघरमा रहेको कृषि, गाईपालन, बाख्रापालन, भेडापालन, चौरीपालन मार्फत आम्दानी गर्ने स्थितिमा पु¥याउछौँ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “उहाँहरु जुन जुन पेशा ब्यवसायमा लाग्नुभएको थियो, जुन जुन शीप सिक्नुभएको थियो, त्यहि पेशा र शीपमा उहाँहरुलाई काममा लगाउने प्रयत्न गर्छौँ ।”

गाउँ भित्रिएका युवाहरु जुन जुन वडामा आएका छन्, तत वडामा उनीहरुलाई हामीले केही ब्यवस्था गर्ने, युवा स्वरोजगार तथा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत समेटेर लैजाने योजना बनाएको उहाँले वताउनुभयो ।

कोरोनाविरुद्ध निरन्तर प्रयास

जिल्लामै पहिलो कदमको रुपमा याङवरक गाउँपालिका भारतको सिक्किमसँग सीमा जोडिएको च्याङथापूमा हेल्पडेस्क स्थापना गरी स्थानीय स्तरमा सचेतना तथा सीमाबाट हुने आवत–जावतलाई नियन्त्रित गरेको थियो । गाउँपालिका अध्यक्ष घिमिरेका अनुसार जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले गरेका निर्णयहरु याङवरक गाउँपालिका भित्र प्रभावकारी रुपमा कार्यान्वयन हुँदै आएका छन् ।

गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापन गर्ने, बाहिरबाट ल्याइएका गाउँपालिकावासीलाई सहज रुपमा क्वारेन्टाइनमा बस्ने वातावरण निर्माण गर्ने तथा महामारी नियन्त्रणका लागि गाउँपालिका भित्र सबै जनशक्तिको परिचालन गरिरहेको अध्यक्ष घिमिरेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्