

फिदिम । वैज्ञानिकहरूले जङ्गलबाट रोगहरू मानवमा सरेर छिटै विश्वभरि फैलिन ‘एउटा उत्तम आँधी’ निर्माण गरेको चेतावनी दिएका छन् । प्राकृतिक विश्वमा मानिसहरूको अतिक्रमणले यो प्रक्रियालाई द्रुत बनाएको छ ।
यो निष्कर्ष नयाँ रोग कहाँ र कसरी उत्पन्न हुन्छ भनेर अध्ययन गर्ने विश्व स्वास्थ्य विज्ञहरूबाट आएको हो । ती वैज्ञानिकहरूले कुन जङ्गली रोग मानिसहरूका लागि सबैभन्दा खतरनाक हुन्छ भनेर थाहा पाउन एउटा ढाँचा पहिचान प्रणाली निर्माण गरेका छन् ।
यूकेको लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले नेतृत्व गरेको यो प्रणाली भविष्यका रोगहरूसँग लड्न तयारी गर्ने विश्वव्यापी प्रयासको एउटा अंश हो ।
“गएको २० वर्षमा हाम्रा अगाडि छ खतरनाक रोगहरू आएः सार्स, मेर्स, इबोला, एभिअन इन्फ्लुएन्जा र स्वाइन फ्लू”, प्राध्यापक म्याथ्युज बाइलिस भन्छन। “हामीले पाँच वटा छल्यौँ तर छैठौँले हामीलाई प्रहार ग¥यो । र यो हामीले देख्ने अन्तिम महामारी होइन त्यसैले हामीले जङ्गली जनावरका रोगहरूलाई राम्ररी नियालिरहनु पर्छ ।”
त्यही नियाल्नका लागि बाइलिस र उनका सहकर्मीहरूले बनाएको प्रणालीले थाहा भएका सबै जङ्गली जनावरका रोगहरूको तथ्याङ्कमाथि अध्ययन गर्छ ।
विज्ञानले चिनेका हजारौँ ब्याक्टेरिया, परजीवी र भाइरसहरूको तथ्याङ्कमा सो प्रणालीले ती मानवमा सर्नसक्ने जोखिमका विषयमा जानकारी हासिल गर्ने प्रयास गर्छ । त्यो जानकारीले कुन चाहिँ रोग मानिसकालाई सबैभन्दा बढी जोखिम छ भन्ने पत्ता लगाउन मद्दत गर्छ ।
यदि कुनै जीवाणुमा खतरा देखियो भने वैज्ञानिकहरूले यसमा अध्ययन केन्द्रित गरेर रोग बनेर फैलिनु अगाडि नै त्यसको उपचार वा नियन्त्रण उपाय खोज्न सक्छन् ।
“कुन रोग महामारी बन्छ भनेर थाहा पाउनु अर्को कदम हो तर हामी पहिलो कदममा केही अगाडि बढेका छौँ” प्राध्यापक बाइलिसले भने ।
धेरै वैज्ञानिकहरू वनविनाश र वन्यजन्तुको आवास क्षेत्रमा अतिक्रमण जस्ता हाम्रा व्यवहारका कारण जनावरबाट मानिसहरू रोग सर्ने दर बढेको मान्छन् ।
युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक केट जोन्सका अनुसार मानवनिर्मित कृषि क्षेत्रजस्ता कुरा बन्दा प्राकृतिक पर्यावरण चक्र तोडिने कारण मानिसहरूमा सङ्क्रमणको जोखिम बढेको हो ।
मानिसबाट जनावरमा पनि रोग सर्ने गरेको छ
“सबै रोगको विषयमा यस्तो भन्न मिल्दैन तर धेरैजस्तो अवस्थामा मानिसको अतिक्रमणलाई सबैभन्दा सहन सक्ने जनावरहरूले नै रोग सार्ने जीवाणुहरू बोकेको देखिन्छ” प्राध्यापक जोन्स भन्छिन्, “त्यसैले वन विनाशजस्ता कारणले मानिस र जनावरको बढी सम्पर्क हुने पर्यावरण चक्र निर्माण गर्छ जसले केही भाइरस, ब्याक्टेरिया र परजीवीहरू मानिससम्म आइपुग्छन् ।”
यसको एउटा उदाहरण सन् १९९९ मा मलेशियामा देखिएको निपाह भाइरसको सङ्क्रमण हो । जङ्गलसँग जोडिएको एउटा सुँगुर पालन केन्द्रबाट सुरु भएको यो सङ्क्रमण जङ्गली चमेरोबाट सरेको थियो । ती चमेरोले खाएर बाँकी रहेका फलहरू सुँगुरले खाएपछि भएको यो सङ्क्रमणले त्यो केन्द्रमा काम गर्ने २५० जनालाई बिरामी बनाएको थियो ।
तीमध्ये १०० भन्दा बढीको मृत्यु भयो । कोरोनाभाइरसबाट मृत्युदर अहिलेको औसतमा एक प्रतिशत जति छ तर निपाह भाइरस सङ्क्रमणको मृत्युदर ४० देखि ७५ प्रतिशत देखिन्छ । लिभरपुल विश्वविद्यालयका प्रध्यापक इरिक फेब्रेका अनुसार रोग सङ्क्रमण फैलिनसक्ने स्थानहरूमा निरन्तर निगरानी आवश्यक छ ।
जङ्गल नजिकैका पशुपालन केन्द्रहरू, जनावरको बिक्री हुने बजारहरू र मानव–जनावरबीच दूरी कम हुने स्थानहरू निगरानी गर्नुपर्छ । फेब्रेका अनुसार त्यस्ता स्थानमा अनौठो लक्षणहरू देखिने बित्तिकै त्यसलाई व्यवस्थापन गर्ने संयन्त्र हुनुपर्छ ।
“बर्सेनि तीनदेखि चार पटक मानिसमा नयाँ रोग देखिन्छ र त्यो एशिया वा अफ्रिकामा मात्रै होइन, युरोप र अमेरिकामा पनि हो” फेब्रे भन्छन् ।
बाइलिस नयाँ रोगबारे थाहा पाउने निगरानी प्रणाली ज्यादै महत्वपूर्ण हुँदै गइरहेको बताउँछन् । “हामीले नयाँ महामारीको उत्पत्तिका लागि एउटा उत्तम आँधी निर्माण गरेका छौँ”, प्राध्यापक फेब्रे भन्छन्, “यस्ता घटनाहरू पटक पटक हुने सम्भावना छ ।” (बीबीसी नेपालीबाट)