कृषकलाई अलैंची खेतीमा आवश्यक सामग्री वितरण



रामप्रसाद बाँस्कोटा, फिदिम (रानीटार) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैंची ब्लक विकास कार्यक्रम मार्फत पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. ७ असिने रानीटारका कृषकहरुलाई अलैंची खेतीका लागि आवश्यक सामग्रीहरु वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र पाँचथरले ५० प्रतिशत अनुदान तथा कृषकहरु समेतको लागनीबाट यहाँका कृषकहरुलाई अलैंची खेतीमा आवश्यक सामग्रीहरु ब्लक विकास समितिले उपलब्ध गराएको हो ।

कृषकहरुलाई आवश्यक ब्रसकटर मेसिन, स्प्रेयर मेसिन, पाइप, प्लाष्टिकको ड्रम, एप्रोन, कुटे, कोदाली, अलैंची टिप्ने छुरी, एक पाङ्ग्रे ठेला, गमबुट, स्प्रे, क्यारेट, ग्लोब्स, डिजिटल तराजु लगायतका सामग्री कृषकहरुलाई वितरण गरिएको हो ।

कृषि ज्ञान केन्द्रको रु. २५ लाख तथा कृषकहरुले जम्मा गरेको रु. २५ लाख गरी कूल रु. ५० लाख मूल्यका सामग्री वितरण गरिएको ब्लक विकास समितिका सचिव उमन राईले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको ३ बर्षे अलैंची ब्लक कार्यक्रम अन्तर्गत दोस्रो बर्षको कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो ।

ल्होसो नाडसल अलैंची ब्लक सञ्चालक समितिको आयोजनामा सञ्चालनमा रहेको उक्त कार्यक्रमले फिदिम वडा नं. ७ भरिका २ हजार २ सय रोपनी क्षेत्रफलमा लगाइएको अलैंचीलाई आधुनिक एवम् ब्यवसायिक बनाउन मद्दत गर्ने ब्लक सञ्चालक समितिका अध्यक्ष विजय तामाङले जानकारी दिनुभयो । जसबाट फिदिम–७ का १५० घर परिवार अलैंची कृषक लाभान्वित हुनेछन् ।

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्ट, फिदिम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गोपालप्रसाद गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरका सदस्य वीरेन्द्र बाँस्कोटा लगायतले सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले अलैंची खेतीर्ला प्रविधिमैत्री ढंगबाट आधुनिक बनाई बढीभन्दा बढी उत्पादन गर्ने र कृषकहरुको आर्थिक अवस्था माथि उकास्ने कार्यक्रमको उद्देश्य रहेको वताउनुभयो । उहाँले प्राप्त सरकारी सहयोगको उचित लाभ लिँदै उत्पादन वृद्धिमा लाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्