पहिलो पटक भारतबाट ३८ जना पाँचथर भित्रिए



फिदिम, २४ जेठ

रोजगारी तथा अन्य कामका सिलसिलामा भारत पुगेका ३८ जना ब्यक्तिहरु जिल्ला भित्रिएका छन् ।

भारतका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका उनीहरु झापाको काकरभिट्टा तथा मोरङको जोगवनी नाका हुँदै नेपाल भित्रिएका थिए । उनीहरु सबैलाई झापाको मेचीनगर नगरपालिकामा रहेको होल्डिङ सेन्टर राखी गएराती जिल्लामा ल्याइएको हो ।

झापा तथा मोरङका क्वारेन्टाइनहरुमा राख्न सम्भब नभएपछि उनीहरुलाई परीक्षणविना नै जिल्ला ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माका अनुसार होल्डिङ सेन्टरमा ठाउँ अभाव भएपछि उनीहरुलाई गृहजिल्ला ल्याइएको हो ।

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले होल्डिङ सेन्टर तथा तराईका जिल्लामा रहेका क्वारेन्टाइनहरु भरिएर भारतबाट फर्कनेहरुलाई राख्न सम्भब नभएपछि जिल्लाकै क्वारेन्टाइनमा पठाइएको वताउनुभयो ।

“यतिञ्जेल पहाडी जिल्लामा घर भई भारतबाट फर्कनेहरु झापा, मोरङ र सुनसरीमा रहेका क्वारेन्टाइनमा रहनुभएको थियो”, आङ्बोले भन्नुभयो, “यहाँका प्रायः क्वारेन्टाइनहरु भरिएकाले जिल्लामै पु¥याई पीसीआर परीक्षण गर्न लागिएको हो ।”

जिल्ला स्थित प्रशासन तथा जनप्रतिनिधिहरुले पीसीआर परीक्षण नगरी विदेशबाट फर्कनेहरुलाई भित्रन नदिन जोड दिने नीति तय गरेका थिए । तर तराईका जिल्ला स्थित स्थानीय तहहरुले क्वारेन्टाइनमा राख्न नसक्ने भनेपछि उनीहरुलाई गृहजिल्ला ल्याइएको हो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटकाका अनुुसार भारतबाट कोरोना परीक्षणविना जिल्ला आएकाहरुलाई फिदिम स्थित अगुवा स्रोत केन्द्र तथा हिलिहाङ स्थित जोरपोखरी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएको छ ।

२७ जनालाई जोरपोखरीमा राखिएको छ भने बाँकी फिदिममा रहेका छन् । स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुले परीक्षणको प्रवन्ध मिलाउने र परीक्षणको नतिजा आएपछि उनीहरु होम क्वारेन्टाइनमा पठाइने सापकोटाले जानकारी दिनुभयो । पाँचथरमा पहिलो पटक भारतबाट नागरिकहरु ल्याइएको हो । यहाँ जिल्लाभित्रै हालसम्म कोरोना भाइरस (कोभिड–१९)का संक्रमित फेला परेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार पाँचथर जिल्लामा शुक्रवार साँझसम्ममा ३९ स्थानमा ६०२ बेडको क्वारेन्टाइन तयार पारिएको छ । यसअघि फिदिम नगरपालिकामा कम्तिमा पाँच सय तथा सबै गाउँपालिकाहरुमा एक/एक सय बेडका क्वारेन्टाइन निर्माण गर्ने भनिएपनि क्वारेन्टाइन वृद्धि हुन सकेको छैन् । जिल्लामा तीन वटा अस्पतालमा ३६ शैय्याको आइसोलेसन कक्ष रहेको छ ।

हालसम्म जिल्लामा २१५ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत समेत थिए । सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक थप ११ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ ।

उनीहरुको रिपोर्ट आउन बाँकी छ । यस्तै जिल्लामा १६५० जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडीटी) भएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । हाल ४२ जना महिला तथा ८४ जना पुरुष गरी १२६ जना ब्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । उनीहरु देशभित्रकै विभिन्न जिल्लाबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्