

फिदिम । पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ११ जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार हालसम्म देशभर संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।
प्रदेश १ प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये सुनसरीका विभिन्न स्थानका ८ जनामा संक्रमण देखिएको छ भने झापाका गौरादहका एक जना र मोरङ रतुवामाईका ६ जनामा समे संक्रमण देखिएको छ ।
यस्तै वीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा भोजपुरका पाँच जना, झापा गौरीगञ्जका एक जना, सुनसरीका १३ जना छन् । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको छ । उनीहरु सबै झापाको कचनकवलका रहेका छन् ।
सेती अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ आएको छ । उनीहरु कैलाली, अछाम, बझाङ, डडेल्धुराका छन् । यस्तै धुलिखेल अस्पतालमा २२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै रामेछाप १७ जना, काभ्रेका पाँच जना छन् ।
रुपन्देहीमा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका छन् । उनी नवलपरासी, रुपन्देही, पाल्पाका छन् । यस्तै हेटौडामा गरिएको परीक्षणमा पाँच जनाको पोजेटिभ आएको छ । सिन्धुली, बाराका छन् । गण्डकीमा दुई जनाको पोजेटिभ आएको छ । उनीहरु तनहुँका छन् ।
कर्णालीमा गरिएको परीक्षणमा ९७ जनामा संक्रमण देखिएको छ । जसमा दैलेखका ९० जना छन् । यस्तै जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा घर भई त्यहाँ कार्यरतहरुको पोजेटिभ आएको छ ।
राप्तीमा गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ । उनीहरु सुर्खेत र दाङका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा संक्रमण देखिएको छ ।
उनीहरुमा बाराका एक, धनुषाका चार जना, गुल्मी घर भई काठमाण्डौँमा रहेका एक जना, कपिलवस्तुका ४४ जना (आठ महिनाका बालक समेत), कास्की घर भएका एक जना, महोत्तरीका १७ जना र रौतहटका छ जना छन् ।
देशभरका प्रयोगशालामा आज २७८ रहेको छ । यो समेत देशभर कूल संख्या २९१२ पुगेको छ । प्रदेश नं. १ मा १२ जिल्लामा २४२ जना संक्रमित छन् ।