सङ्कट केन्द्रित बजेट निर्माण गर्न स्थानीय तहलाई आग्रह



फिदिम, २२ जेठ

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले कोभिड–१९ को सङ्क्रमणद्वारा सिर्जित सङ्कट केन्द्रित नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

कोभिड–१९ सङ्क्रमण अझै बढ्नसक्ने र यसले स्थानीय तहलाई ठूलो ब्ययभार पर्ने वताउँदै मन्त्री आङ्बोले सङ्कट सामना गर्ने तर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो । कोभिड–१९ को सङ्क्रमण न्यूनिकरण तथा बन्दाबन्दी अन्त्यपछि समेत अर्थब्यवस्था र सर्वसाधारणको जीवन सामान्य अवस्थामा जान नसक्ने भएकाले ती सबै पक्षलाई विशेष ध्यान दिन उहाँले स्थानीय तहहरुलाई आग्रह गर्नुभएको हो ।

सोमवार गृहजिल्ला पाँचथरका स्थानीय तहका प्रमुखहरु तथा प्रमुख प्रशासकीय अधिकृतहरुसँग तथा बुधवार जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा सरकारी निकायका प्रमुखहरुसँग ‘भर्चुअल’ बैठकमा मन्त्री आङ्बाले आगामी आर्थिक वर्षको बजेटलाई परम्परागत प्रकारको नबनाउन समेत आग्रह गर्नुभयो ।

उहाँले सानो आकारको बजेट निर्माण गर्न स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । “राजश्व बाँडफाँट र वित्तीय समानिकरणको बजेट यो सङ्कटका कारण कम आउनसक्छ । स्थानीय तहले अहिले ठूलो आकारको बजेट बनाउने र पछि समस्या पर्ने काम गर्नुहुन्न”, मन्त्री आङ्बोले भन्नुभयो, “जनताका अत्यावाश्यक समस्या हल गर्ने बजेट ल्याऔँ ।”

संघीय सरकारबाटै बजेटको आकार घट्दै जाँदा स्थानीय तहहरुमा संघ वा प्रदेश सरकारले एक्लै विकास आयोजना सञ्चालन गर्न नसक्ने वताउँदै ठूला र अत्यावाश्यक योजना सञ्चालनका लागि समपुरक कोषमा रकम सञ्चित गर्न आग्रह गर्नुभयो ।

भर्चुअल बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा सघन उत्पादन हुने बालीको पकेट क्षेत्र निर्माणका लागि बजेट छुट्टयाउन माग गरे । जिल्लाको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले गाउँपालिकालाई कफीको पकेट क्षेत्र बनाउन तथा ब्यावसायिक पशुपालनमा जोड दिई सुक्खा र खडेरी प्रभावित कृषकहरुको जिविकोपार्जनको वैकल्पिक माध्यम निर्माणका लागि बजेटको प्रवन्ध गर्न आग्रह गर्नुभयो । उहाँले आवाशीय विद्यालय स्थापनाको योजना अघि बढाउन माग गर्नुभयो ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले किबी, अकबरे खुर्सानीको पकेट क्षेत्र बनाई कोभिड–१९ को महामारीका कारण गाउँ फर्केका युवाहरुलाई स्थानीय स्तरमै रोजगारी दिन बजेट छुट्टयाउन माग गर्नुभयो । हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले प्रत्येक वडामा सामुदायिक भवन निर्माण गर्ने योजना ल्याउन आग्रह गर्नुभयो ।

जनप्रतिनिधिहरुले विगतका वर्षहरुबाट सञ्चालित विकास योजनालाई पूर्णता दिन, बन्दाबन्दीको प्रभावमा परेका विकास योजनाको बजेट निकासाको प्रवन्ध मिलाउन, स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्न, विद्युतिकरणको कार्य पूरा गर्न तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योग स्थापनाका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेटको प्रवन्ध गर्न आग्रह गरे ।

पाँचथरबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने मन्त्री आङ्बो र जनप्रतिनिधिहरुले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनिकरणका प्रयासवारे समेत छलफल गरेका छन् । उक्त छलफलले विशेषत भारतबाट आउने जिल्लावासीलाई होल्डिङ क्षेत्रमी पीसीआर परीक्षणपछि जिल्ला भित्र्याउने तथा होल्डिङ क्षेत्रमा ठूलो चाप भए जिल्लामा ल्याई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणपछि घर पठाउने निश्कर्ष निकालेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्