

फिदिम, २२ जेठ
बन्दाबन्दी लम्बिँदै जाँदा यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग पु¥याउन यहाँका सुरक्षा निकायका प्रमुखहरुले जनप्रतिनिधिसमक्ष आग्रह गरेका छन् ।
जिल्लामा सदरमुकाम फिदिम सहितका मुख्य बजारहरुमा मानवीय चहल–पहल क्रमशः बढ्दै गएपछि सर्वसाधारणमा सङ्क्रमण फैलन त्रास बढिरहेको छ । तर वित्तीय संस्था, निर्माण क्षेत्र, खाद्यान्न लगायतको निर्वाध सञ्चालनमा छन् ।
यहाँ हालै आयोजित अन्तरक्रियामा सुरक्षा निकायका प्रमुखहरुले स्थानीय तहहरुले बन्दाबन्दीको कार्यान्वयनमा अगुवाई गर्नुपर्नेमा जोड दिए । तर स्थानीय तहका प्रमुखहरुले स्पष्ट जवाफ दिएनन् । स्थानीय तहभन्दा सुरक्षा निकाय नै अगाडी हुने भएकाले उसैको भूमिका प्रमुख हुने उनीहरुको तर्क थियो ।
प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपाने ठूला ब्यवसायीलाई ब्यवसाय सञ्चालनमा छुट दिइएको आमगुनासो सम्बोधन गर्न जनप्रतिनिधिको विशेष भूमिका हुनुपर्ने औँल्याउनुहुन्छ । “ठूला ब्यवसाय भनेकै खाद्यान्न र निर्माण क्षेत्र छन् । यी ब्यवसाय निर्वाध सञ्चालन भएपछि साना ब्यवसायीहरु असन्तुष्ट छन्”, प्रनाउ न्यौपानेले भन्नुभयो, “स्पष्ट मापदण्ड र समय किटान नहुँदा सुरक्षाकर्मीले अनावाश्यक समस्या भोग्नु परिरहेको छ ।”
सङ्क्रमण नदेखिएको भन्दै मानिसहरु विभिन्न बाहनामा अनावाश्यक काममा समेत घर बाहिर निस्कँदा समस्या निम्तिएको प्रनाउ न्यौपानेको भनाई छ । स्थानीय स्तरमा खाद्यान्नको सङ्कट नै हुने अवस्था सिर्जना नभएकाले खाद्यान्न विक्री गर्ने ब्यवसाय सञ्चालनलाई समेत निश्चित र नियन्त्रित गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा स्थानीय तहले स्पष्ट नीति सहित अग्रसरता लिनेसके मात्रै बन्दाबन्दीको कार्यान्वयन र स्थानीय स्तरमा उठेका प्रश्नहरुको समाधान गर्न सकिने वताउनुहुन्छ ।
“यहाँका नागरिकलाई मनाउन समेत सहज भएकाले जनप्रतिनिधिले बन्दाबन्दी पालनाको अग्रसरता लिनुपर्छ”, प्रजिअ शर्माले भन्नुभयो, “प्रहरी प्रशासन यहाँ (जनप्रतिनिधि)हरुको पछि लाग्छ ।” खाद्यान्न र निर्माण सामग्रीको दैनिक तथा अनियन्त्रित विक्री र ढुवानीले मानवीय तथा सवारी चाप बढेको स्वीकार्दै प्रजिअ शर्माले सङ्क्रमण फैलन यस्ता कार्यले सहयोग पुग्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका प्रमुख शैलेश श्रेष्ठले जनप्रतिनिधिको सहयोगले मात्रै बन्दाबन्दीको प्रभावकारी कार्यान्वयनमार्फत सङ्क्रमण रोकथाम सहज हुने भएकाले सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
सुरक्षा निकायले स्थानीय तहको अग्रसरताको अपेक्षा राखेपनि जनप्रतिनिधिले त्यस्तो स्पष्ट जवाफ दिएका छैनन् । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जारी बन्दाबन्दी कसरी अघि बढ्छ भन्ने विषय सबैको चासोको विषय भएकाले संघीय सरकारको निर्णय पर्खनुपर्ने वताउनुभयो ।
उहाँले भएकाले स्थितिलाई सामान्य अवस्थामा राख्न सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै पक्ष आफ्नो भूमिका बुझ्नु र सक्रिय हुनुको विकल्प नरहेको वताउनुभयो ।